२०८२ जेठ १३ गते
काठमाडौँ । वीरगंजस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सार नाकाबाट चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनामा भारत र तेस्रो मुलुकतर्फ ७९ अर्ब ३ करोड ७४ लाख रुपैयाँ बराबरको नेपाली उत्पादन निर्यात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो। यस वर्ष सो निर्यातमा २१० प्रतिशतको उल्लेखनीय वृद्धि भएको वीरगञ्जस्थित आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए।
कार्यालयका अनुसार वीरगञ्ज हुँदै धेरै निर्यात हुने मुलुकहरुमा भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्डलगायतका देशहरू छन्। तीमध्ये मुख्य रूपमा प्रशोधित तेल, जुस, कपडा, जुत्ता, फलामे पाता, जडीबुटी, पशु आहार, मेसिनरी उपकरण, र घरेलु सामग्री रहेका छन्।
१० महिनामा सर्वाधिक निर्यात भएका वस्तुहरू
भटमासको प्रशोधित तेल : ४६ अर्ब ५३ करोड ५५ लाख
फलफूलको जुस तथा जाम: ६ अर्ब ६१ करोड ५३ लाख
सूर्यमुखी प्रशोधित तेल: ७ अर्ब २७ करोड २१ लाख
फलाम तथा फलामजन्य सामग्री: ८ अर्ब ४० करोड ६३ लाख
सेन्थेटिक यार्न: २ अर्ब ९ करोड ५४ लाख
विभिन्न प्रकारका कपडा:२ अर्ब ७ करोड ४३ लाख
पशु आहारको कच्चा पदार्थ: १ अर्ब ८० करोड ५९ लाख
सवारी साधन, मेसिनरी तथा पार्टपुर्जा: १ अर्ब १ करोड
आयुर्वेदिक औषधि: ६५ करोड ३४ लाख
पाल्तु जनावरको खाना (कुकुर, बिरालो):८८ करोड ३८ लाख
त्यसैगरी, मनोरञ्जन सामग्री, स्पोर्ट शूज, दन्तमञ्जन, रेसा कपडा, स्टिलका भाँडा, सी.आर. सीट, जीआई पाइपलगायतका सामग्रीहरू पनि भारत तथा तेस्रो मुलुकतर्फ निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
प्रतिक्रिया