२०८३ साउन २९ गते
काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सहसचिव डा. धनीराम शर्मालाई एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशकमा मनोनयन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकले अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुखसमेत रहेका शर्मालाई मनिलास्थित एडीबी मुख्यालयमा रहेको उक्त जिम्मेवारीका लागि छनोट गरेको हो।
एडीबीको वैकल्पिक कार्यकारी निर्देशक पद उच्च पारिश्रमिक र सुविधायुक्त अन्तर्राष्ट्रिय जिम्मेवारीका रूपमा परिचित छ। एडीबीको सन् २०२५ को विवरणअनुसार यस पदको वार्षिक आधारभूत तलब २ लाख ३१ हजार २४० अमेरिकी डलर जसको मासिक करिब १९ हजार २७० अमेरिकी डलर अर्थात प्रतिमहिना नेपाली साँढे २९ लाख रहेको छ। यसबाहेक आवास, सन्तानको शिक्षा, स्वास्थ्य बीमा, पेन्सन, जीवन तथा अशक्तता बीमालगायत सुविधा उपलब्ध हुनेछ ।
हाल उक्त पदमा रहेका सहसचिव श्रीकृष्ण नेपाल भदौ १५ गते अनिवार्य अवकाशमा जाने भएपछि सरकारले शर्मालाई उनको स्थानमा पठाउने निर्णय गरेको हो। सहसचिव नेपाल पनि मनिला जानुअघि अर्थ मन्त्रालयकै अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाको नेतृत्वमा थिए।
एडीबीको बोर्डमा नेपालले ब्रुनाई, मलेसिया, सिंगापुर, थाइल्यान्ड र टर्किएसँग एउटै निर्वाचन समूहबाट प्रतिनिधित्व गर्ने भएकाले उक्त पदलाई रणनीतिक जिम्मेवारीका रूपमा पनि हेरिन्छ।
प्रतिक्रिया