२०८३ भदौ ०९ गते
काठमाडौं– रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने विशेष मेलामा काठमाडौंको सामाखुसीस्थित अल नेपाल हस्पिटलले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गर्ने भएको छ। जनैपूर्णिमाको मेलामा गोसाइँकुण्ड पुग्ने तीर्थयात्री तथा पर्यटकहरूलाई लक्षित गर्दै अल नेपाल हस्पिटलले निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउन लागेको हो।
अल नेपाल हस्पिटलले भदौ १० देखि १२ गतेसम्म (तीन दिन) गोसाइँकुण्डमा स्नान तथा भ्रमणका लागि पुग्ने तीर्थयात्रीहरूलाई यो सेवा दिनेछ। अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोलीले त्यहाँ पुग्ने तीर्थयात्रीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछ।
अस्पतालका तर्फबाट सुमन पौडेलको नेतृत्वमा टोली गोसाइँकुण्ड पुगिसकेको छ। हस्पिटलले गोसाइँकुण्ड गाउँपालिका, रसुवासँगको सहकार्यमा यो सेवा सञ्चालन गर्न लागेको हो। साथै, तीर्थयात्रीहरूका लागि निःशुल्क क्वाटी र तातोपानी वितरणसमेत गरिने जनाइएको छ।
समुद्री सतहबाट ४,३८० मिटर उचाइमा रहेको पवित्र धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ।
मेलामा निःशुल्क क्वाटी, तातोपानी तथा स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गोसाइँकुण्ड गाउँपालिका र पञ्चधाम सेवा केन्द्र नेपालले गरेका हुन् भने अल नेपाल हस्पिटल, गोसाइँकुण्ड क्षेत्र विकास समिति र लायन्स क्लब अफ काठमाडौं सह-आयोजकका रूपमा रहेका छन्।
प्रतिक्रिया