२०८२ साउन ०७ गते
काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि आर्थिक स्रोत जुटाउने तयारी अघि बढाएकोछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यही साउनदेखि आगामी असोजसम्म रु एक खर्ब १३ अर्ब बराबरको आन्तरिक ऋण उठाउने गरी कार्यतालिका समेत सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार सो अवधिमा अवधिमा रु एक खर्ब १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्नेछ ।
कार्यतालिका अनुसार कार्यालयले रु १० अर्ब बराबरका तीन वर्षेदेखि ११ वर्षे अवधिका ११ वटा विकास ऋणपत्र बिक्री गर्नेछ । यस्तै, पाँच वर्षे रु दुई अर्ब ५० करोडको नागरिक बचतपत्र रु ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ ।
यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् कात्तिकदेखि पुससम्ममा रु ८५ अर्ब आन्तरिक ऋण उठाउने कार्यतालिका छ । त्यसमा ट्रेजरी बिल मार्फत रु २५ अर्ब तथा विकास ऋणपत्र मार्फत रु ६० अर्ब उठाइनेछ । उक्त अवधिमा रु पाँच अर्ब बराबरको २८ दिनेदेखि एकवर्षे अवधिको पाँच वटा ट्रेजरी बिल बिक्री गरिनेछ । यस्तै, रु १० अर्ब बराबरका तीन वर्षेदेखि १० वर्षे अवधिका छ वटा विकास ऋणपत्र बिक्री गरिनेछ ।
कार्यतालिका अनुसार, आगामी माघदेखि चैतसम्ममा रु एक खर्ब नौ अर्ब आन्तरिक ऋण उठाइनेछ । सो समयमा ट्रेजरी बिलमार्फत रु ५० अर्ब तथा विकास ऋणपत्रमार्फत रु ५६ अर्ब उठाइनेछ । यस्तै, पाँच वर्षे अवधिको रु दुई अर्ब ५० करोडको नागरिक बचतपत्र तथा रु ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ । कार्यतालिकाअनुसार आगामी वैशाखदेखि असारसम्ममा रु ५५ अर्ब आन्तरिक ऋण उठाइनेछ ।
उक्त अवधिमा रु पाँच अर्ब बराबरका ११ वटा ट्रेजरी बिलमार्फत रु ५५ उठाइनेछ । सरकारले गत जेठ १५ गते नै चालु आर्थिक वर्षका लागि रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ रु ११ खर्ब ८० अर्ब ५८ करोड, पुँजीगततर्फ रु चार खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा तीन खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ ।
बजेटमा स्रोतका रूपमा राजस्वबाट रु १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट रु तीन खर्ब ६२ अर्ब, बाह्य ऋणबाट रु दुई खर्ब ३३ अर्ब र अनुदानबाट रु ५३ अर्ब जुटाउने उल्लेख छ । बजेटमा व्यवस्था भए अनुसार कार्यालयले आन्तरिक ऋण उठाउनका लागि विकास ऋणापत्र, टे«जरी बिल्स र वैदेशिक रोजगार वचतपत्र बिक्रीको कार्यतालिका सार्वजनिक गरेको हो ।
प्रतिक्रिया