२०८३ भदौ २३ गते
काठमाडौं । सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको भन्दै विभिन्न भिडियो तथा तस्बिरहरू भाइरल भइरहेका छन् । समुद्रको पानी एकाएक पछाडि हटेर ठूलो भूभाग खाली भएको दृश्य देखिएपछि कतिपयले यसलाई प्राकृतिक विपत्तिको संकेत, समुद्रभित्र जमिन चिरिएको वा सुनामी आउनुअघिको अवस्था भएको दाबीसमेत गरेका छन् ।
तर, अर्जेन्टिनाको समुद्र स्थायी रूपमा सुकेको वा समुद्रको पानी हराएको भने होइन । अर्जेन्टिनाको मार डेल प्लाटा तटीय क्षेत्रमा समुद्रको पानी केही समयका लागि अस्वाभाविक रूपमा पछाडि हटेको वास्तविक घटना भने भएको हो ।
अगस्टमा मार डेल प्लाटाको पुन्टा मोगोटेसस्थित फारो क्षेत्रमा समुद्रको सतह उल्लेख्य रूपमा घट्दा सामान्य अवस्थामा पानीमुनि रहने प्राकृतिक चट्टानी संरचना ‘रेस्टिङ्गा डेल फारो’ समेत बाहिर देखिएको थियो । यही दृश्यलाई धेरैले नयाँ टापु वा समुद्र सुकेको भन्दै सामाजिक सञ्जालमा फैलाएका थिए ।
विशेषज्ञहरूका अनुसार यस्तो अवस्था समुद्रको पानी हराएर नभई ज्वारभाटा, वायुमण्डलीय चाप र हावाको दिशाजस्ता प्राकृतिक कारणको संयुक्त प्रभावले हुन सक्छ । मार डेल प्लाटा क्षेत्रमा ज्वारभाटाको प्रभावसमेत उल्लेख्य हुने भएकाले केही मौसमीय अवस्थासँग ज्वारको अवस्था मिल्दा समुद्रको सतह सामान्यभन्दा निकै तल देखिन सक्छ ।
विशेषगरी समुद्रबाट जमिनतर्फ वा जमिनबाट समुद्रतर्फ बहने हावाको दिशा र तीव्रताले तटीय पानीको वितरणमा प्रभाव पार्छ । समुद्रको पानीलाई किनारबाट टाढातर्फ धकेल्ने हावा चलेमा स्थानीय रूपमा समुद्रको सतह घटेजस्तो देखिन सक्छ । त्यसमाथि ज्वारको न्यून अवस्था र वायुमण्डलीय चापको प्रभाव थपिँदा पानी अझ धेरै पछाडि हटेको देखिन सक्छ ।
यसरी केही समयका लागि पानी पछाडि हटे पनि हावाको अवस्था परिवर्तन हुने र ज्वार फर्किने क्रमसँगै समुद्रको पानी पुनः तटीय क्षेत्रमा फर्किन्छ । त्यसैले यसलाई समुद्र ‘सुकेको’ वा पानी पृथ्वीभित्र पसेर हराएको घटना भन्नु वैज्ञानिक रूपमा सही नहुने विश्लेषकहरुले बताएका छन् ।
प्रतिक्रिया