२०८३ भदौ २८ गते
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका पीडितलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयको इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्युरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउन १० लाख डलर स्वीकृत गरेको विदेश मन्त्रालयले जनाएको हो ।
यससँगै अमेरिकाले हालसम्म कुल ५० लाख डलरभन्दा बढीको मानवीय, स्वास्थ्य तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको जनाएको छ ।
प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको पनि विदेश मन्त्रालय जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
अमेरिकी सहायताअन्तर्गत विश्व खाद्य कार्यक्रम मार्फत ३० लाख डलर बराबरको खाद्य तथा लजिस्टिक सहायता समावेश गरिएको बताइएको छ । यस सहायताबाट बाढी प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म आपत्कालीन भोजन उपलब्ध गराइने बताइएको छ ।
सम्पर्कविहीन बनेका दुर्गम समुदायसम्म पुग्न हवाई तथा स्थल यातायातको प्रयोग गरी मानवीय सहायता आपूर्ति शृंखलामा देखिएका अवरोध हटाउने प्रयास भइरहेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कैथोलिक रिलिफ सर्भिसमार्फत ६ लाख ८५ हजार डलरको सहायता भोजन, आश्रय, खानेपानी, सरसफाइ, सुरक्षा तथा वित्तीय सहयोगका लागि उपलब्ध गराइएको अमेरिकाले जनाएको छ । यसअन्तर्गत अत्यावश्यक आश्रय सामग्री, भोजन, कम्बल, प्लास्टिक सिट, पाल, सौर्य बत्ती तथा डिग्निटी किट वितरण गरिँदै गरेको बताइएको छ । बालबालिकाको सहयोगका लागि ‘बालमैत्री’ स्थानसमेत सञ्चालन भइरहेको अमेरिकाले जनाएको छ ।
अर्कातर्फ, झपिगो, एफएचआई–३६० र युनिसेफमार्फत स्वास्थ्य, पोषण तथा सरसफाइका लागि ३ लाख ६५ हजार डलर उपलब्ध गराइएको जनाएको छ । उता, एफबीआईका फोरेन्सिक विशेषज्ञले विपद्पीडितको पहिचानका लागि नेपाल प्रहरीसँग मिलेर काम गरिरहेका बताइएको छ । यी मानवीय तथा फोरेन्सिक विशेषज्ञले अमेरिकी नागरिकका परिवार तथा यस त्रासदीका सम्पूर्ण पीडितको पहिचानमा अधिकारीलाई सहयोग गरिरहेका छन् ।
अमेरिकी सेनाले नेपालको नेतृत्वमा भइरहेको खोज, उद्धार तथा राहत अभियानका लागि ५ हजार विशेष विपद् पीडित पुनःप्राप्ति सामग्री, ५०० प्राथमिक उपचार किट, स्ट्रेचर तथा फ्रन्ट–इन्ड लोडर उपलब्ध गराएको अमेरिकाले जनाएको छ । चार सदस्यीय अमेरिकी सैन्य सिभिल अफेयर्स टोली मानवीय तथा विपद् सहायता परियोजना सञ्चालन गर्न घटनास्थलमै परिचालित रहेको अमेरिकाले जनाएको छ ।
अमेरिका परिस्थितिअनुसार नेपाल सरकारसँग समन्वय गरी थप सहायता प्रदान गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ ।
प्रतिक्रिया