२०८३ भदौ १४ गते
काठमाडौँ । पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंक लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले अर्याललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो । श्रेष्ठको राजीनामा स्वीकृत भएको चार दिनपछि नै सञ्चालक समितिले अर्याललाई नयाँ अध्यक्ष नियुक्त गरेको हो ।अर्याल यसअघि नै हिमालयन बैंकको सञ्चालकका रूपमा कार्यरत थिए। नेपाल सरकारको मुख्यसचिवको जिम्मेवारीसमेत सम्हालिसकेका अर्यालले सरकारी सेवाका क्रममा अर्थ, प्रशासन तथा सार्वजनिक व्यवस्थापनका क्षेत्रमा लामो अनुभव हासिल गरेका छन्।
प्रशासनिक तथा सार्वजनिक व्यवस्थापन क्षेत्रमा लामो अनुभव भएका अर्याललाई बैंकको अध्यक्षको जिम्मेवारी दिइनुलाई संस्थागत सुशासन तथा रणनीतिक नेतृत्वका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
नयाँ अध्यक्षका रूपमा अर्यालले बैंकको रणनीतिक नेतृत्व, संस्थागत सुशासन तथा समग्र बैंकिङ गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी सम्हाल्नेछन् ।
हिमालयन बैंक नेपालको पुरानो वाणिज्य बैंकमध्ये एक हो। बैंकले व्यक्तिगत तथा संस्थागत बैंकिङ, कर्जा, निक्षेपलगायत विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया