प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच भेटवार्ता, के भयो कुराकानी ?

२०८३ भदौ १८ गते

प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जा मन्त्री कुलमान घिसिङबीच सिंहदरबारमा भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षति, उद्धार तथा राहत अभियान र आगामी कार्ययोजनाबारे छलफल भएको हो।

 

Advertisement:

Ad
Ad

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले आफूहरूले स्थलगत निरीक्षणका क्रममा देखेका तथा बुझेका विषयबारे सरकारलाई लिखित र मौखिक रूपमा सुझाव दिएको बताए। उनका अनुसार भेटमा मुख्यतः उद्धार, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो।

सुरुङमा फसेकाको उद्धारबारे प्रधानमन्त्रीको चासो

भेटका क्रममा प्रधानमन्त्री शाहले बाढीका कारण सुरुङमा फसेका व्यक्तिहरूको उद्धारलाई विशेष प्राथमिकतामा राख्दै त्यसका लागि अपनाउन सकिने उपायबारे चासो राखेका थिए।

 

सुरुङभित्र फसेकाको उद्धारका लागि विश्वमै छुट्टै वा विशेष प्रविधि उपलब्ध छ कि छैन भन्ने विषयमा सोधिएको प्रश्नमा घिसिङले त्यस्तो कुनै विशेष प्रविधि नभएको बताए। उनका अनुसार यस्ता उद्धार कार्यमा उपलब्ध निर्माण उपकरणकै प्रयोग गरेर काम गर्नुपर्ने हुन्छ।

 

‘स्पेसल प्रविधि त हुँदैन, गर्ने साधारण कामै हो । हामीले त्यहाँ स्काभेटरहरू प्रयोग गरेर नै काम गर्ने हो, तर बाढीका कारण केही समस्या देखिएको हो । हामीले प्रभावकारी रूपमा काम गर्नुपर्छ भन्ने कुरा राख्यौँ,’ घिसिङले भने।

 

जवाफमा प्रधानमन्त्री शाहले उद्धारका लागि सरकारले आफ्नो क्षमताले भ्याएसम्मका सबै स्रोतसाधन परिचालन गर्ने र आवश्यक परे विदेशबाट समेत प्रविधि तथा जनशक्ति ल्याएर काम अघि बढाउने प्रतिबद्धता जनाएको घिसिङले जानकारी दिए।

 

प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै उनले भने, ‘यो विषयमा हामीले सकेको जुनसुकै र जस्तोसुकै परिचालन गर्छौं । हामी डेडिकेटेड भएर नै लागेका छौं।’

 

घिसिङले विपद्को विनास ठूलो भएकाले त्यसअनुसारको पूर्वतयारी पर्याप्त हुन नसकेको हुन सक्ने बताए।