बालेन-रविको ४ घण्टा भेटवार्ता : दुवैले पोखे गुनासो,दुवैको असन्तुष्टी

२०८३ असार २९ गते

बालेन-रविको ४ घण्टा भेटवार्ता : दुवैले पोखे गुनासो,दुवैको असन्तुष्टी

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार करिब चार घण्टा लामो भेटवार्ता भएको छ। पार्टीभित्र देखिएका केही असमझदारी, सरकारका प्राथमिकता र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर दुई नेताबीच खुला छलफल भएको स्रोतले जनाएको छ।

 

Advertisement:

Ad
Ad

छलफलका क्रममा लामिछानेले सुकुमवासी व्यवस्थापनमा भइरहेको ढिलाइ, अर्थमन्त्री स्वर्णिम वाग्ले र प्रधानमन्त्रीबीच देखिएको भनिएको मतभेद, महामन्त्री मनोनयनको विषय, सामाजिक सञ्जालमा पछिल्लो समय देखिएका असन्तोषको व्यवस्थापन तथा दलाई लामासँग सम्बन्धित कूटनीतिक चासोका विषय उठाएका थिए।

 

त्यस्तै प्रधानमन्त्री शाहले सुकुमवासी समस्या समाधानको प्रक्रियामा कर्मचारीतन्त्र र स्थानीय तहबाट अपेक्षित सहयोग नपाएकाले काम ढिलो भएको बताए। उनले सरकारले समाधानको दिशामै काम गरिरहेको भन्दै अनावश्यक भ्रममा नपर्न आग्रह गरेका थिए।

 

अर्थमन्त्री वाग्लेसँग सम्बन्धित विषयमा पनि दुवै नेताबीच खुला छलफल भएको बताइएको छ। बजेट कार्यान्वयन र सरकारभित्रको समन्वयलाई लिएर पछिल्लो समय देखिएका असन्तुष्टिबारे कुरा भएको स्रोतको भनाइ छ।

 

पार्टीको आन्तरिक व्यवस्थापन अन्तर्गत भूपदेव शाहको सम्भावित मनोनयनबारे पनि छलफल भएको थियो। यस विषयमा अन्तिम निर्णय भने केही दिनभित्र हुने संकेत गरिएको छ।

 

सामाजिक सञ्जाल हुँदै सडकसम्म पुग्न थालेको जनअसन्तोषबारे लामिछानेले सरकारलाई संवेदनशील बन्न सुझाव दिएका थिए। जवाफमा प्रधानमन्त्री शाहले सरकारविरुद्ध नियोजित प्रचार भइरहेको दाबी गर्दै वास्तविक समस्या समाधानमा सरकार केन्द्रित रहेको बताएका थिए।

 

भेटमा प्रधानमन्त्री शाहले पनि आफ्ना तीन मुख्य सरोकार राखेका थिए। उनले पार्टीकै केही सांसद र नेताले सरकारविरुद्ध सार्वजनिक टिप्पणी गरिरहेको भन्दै अनुशासन कायम गर्न आग्रह गरेका थिए। साथै संसद् र सरकारबीच समन्वय तथा सुशासनका कार्यक्रम कार्यान्वयनमा पार्टी नेतृत्वको सहयोग आवश्यक रहेको बताएका थिए।

 

बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन र सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यलगायत सहभागी थिए।