२०८३ वैशाख ०१ गते
काठमाडौँ । सरकारले बदलिँदो वैश्विक भूराजनीति र छिमेकी शक्तिहरूको उदयलाई विकासको अवसरमा बदल्न सन्तुलित र गतिशील कूटनीति अवलम्बन गर्ने भएको छ ।
मंगलबार सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा यो विषय उल्लेख छ ।नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भू(राजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न सन्तुलित र गतिशील कूटनीति अवलम्बन गरिनेछ। नेपालका कूटनीतिक नियोगहरूको काम र जिम्मा नियोगको सक्रियता र नतिजा मापन गर्न वैज्ञानिक 'परफरमेन्स अडिट प्रणाली शुरू गरिनेछ,'प्रतिबद्धता पत्रमा उल्लेख छ ।
अगाडि भनिएको छ, 'नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै नेपाललाई 'बफर स्टेट'बाट'भाइब्रेन्ट ब्रिज'को रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गरी नेपाललाई स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रको रूपमा विश्वमञ्चमा स्थापित गरिनेछ ।'
कुनै पनि सैन्य गठजोठमा नलागी सबैसँग समदूरी र समनिकटताको नीति अवलम्बन गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।'कुनै पनि सैन्य गठजोड, हात-हतियारको दौड र युद्धले शान्तिलाई बाधा पुर्याउँदछ भन्ने मान्यतासहित सबैसँग समदूरी र समनिकटताको नीति अवलम्बन गरिनेछ । सम्पूर्ण कूटनीतिको केन्द्रमा 'नेपाल प्रथमः नेपाली प्रथम'को अवधारणा आत्मसाथ गरिनेछ । आर्थिक कूटनीतिलाई बढावा दिनुका साथै सगरमाथा सम्वादजस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ,'प्रतिबद्धता पत्रमा भनिएको छ ।
जलवायु परिवर्तन, हिमालयको संरक्षण, पर्वतीय मुद्दा र भूपरिवेष्ठत राष्ट्रका साझा हितमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज सशक्त रूपमा उठाइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
प्रतिक्रिया