बालबालिकाको नाममा प्रधानमन्त्रीको सम्बोधन :' तपाइँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौं'

२०८३ भदौ १९ गते

बालबालिकाको नाममा प्रधानमन्त्रीको सम्बोधन :' तपाइँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौं'

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीका दिन बाढी प्रभावित क्षेत्रका बालबालिका नाममा सन्देश जारी गरेका छन् ।

सामाजिक सञ्जालमा बालबालिकाका नाममा सम्बोधन गर्दै उनले भनेका छन्, ‘तपाईंहरू भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ । यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौं । जतिसक्छौं हामी खटिरहेका छौं । त्यसमा यहाँहरूको पनि साथ मिल्ने नै छ ।’

Advertisement:

Ad
Ad


तर, यसपालिको यो उत्सवमा रसुवा भोटेकोशी बाढी प्रभावित क्षेत्रका नानीबाबुहरू त्यसरी खुसी हुन नसकेकोप्रति उनले दुस्ख व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले कतिपय नानीबाबुहरूले अचानक के–के भयो, कतिले त सोच्नसमेत नभ्याएको बताएका छन् ।

‘नानीबाबुहरूका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेका होलान् । कतिपय बाबुनानीहरूले विपद्को १०औँ दिनसम्म आइपुग्दा हाम्रो प्यारो देश नेपालले अहिले ठूलो विपद् भोग्नुपरेको छ भन्ने थाहा पाइसक्नुभएको होला’, उनले भनेका छन् ।

आज देश दुस्खी भएको र बालबालिकाका कति साथीहरू छुटिनुभएको तथा कति घर र बस्तीहरू खण्डहर बनेको बताएका छन् । ‘खेल्ने कुद्ने चौरहरू पुरिएका छन् । यहाँहरूको आफ्नै ठाउँ आज बिरानोजस्तै बनेको होला’, प्रधानमन्त्री बालेनले भनेका छन् ।

प्रधानमन्त्री शाहले बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू र वृद्धवृद्धासँगै बालबालिकालाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएको र त्यो क्रम अहिले पनि जारी रहेको बताए ।

‘हामीले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेका होल्डिङ सेन्टरमा यहाँहरू बसिरहनुभएको छ । हामीलाई थाहा छ यहाँहरूका लागि यो बसाइ सहज छैन । तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौं । पुनस् यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौं’, उनले भने ।

प्रधानमन्त्री शाहले विपद् फेरि पनि आउन सक्ने उल्लेख गर्दै जलवायु परिवर्तनको ठूलो असर हाम्रो हिमालय क्षेत्रमा परिसकेको बताए ।

साथै हामीमाथि परेको विपद्को यो बज्रपातबारे सारा संसारले थाहा पाइसकेको तर पनि हामीले भोग्न थालेको पीडा र विपद् जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराइराख्नुपर्ने आवश्यकता पनि औंल्याए ।

‘प्रभावित क्षेत्रका नानीबाबुहरूले प्रत्यक्ष विपद् भोग्नुभयो । अन्य क्षेत्रका नानीबाबुहरू पनि उत्तिकै सतर्क रहनुहोला । यहाँहरूले आफ्नो सुनौलो भोलिका लागि आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्नुपर्छ’, उनले भने ।

प्रधानमन्त्री शाहले पूर्वतयारीका लागि विभिन्न कुरामा ध्यान दिन आग्रह गरेका छन् । उनले विपद् झोला, ससानो बचत र  अध्ययन र छलफलमा ध्यान दिन आग्रह गरेका छन् । जलवायु परिवर्तन भनेको के हो र यसले हामीलाई के असर पारिरहेको छ भन्नेबारे अध्ययन सुरु गर्न आग्रह गरेका छन् ।

साथै एकापसमा यस्ता विषयमा छलफल गर्न र जनचेतना फैलाउने काममा अगाडि बढ्न पनि बालेनले सुझाव दिएका छन् ।

‘विपद्को भाषा विनास र दुस्ख हो, तर यस्तो सङ्कटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ’, प्रधानमन्त्री बालेनले भनेका छन्, ‘श्रीकृष्णले पनि भन्नुभएको छ सङ्घर्ष र विपद्को समयमा हार मानेर वा निरास भएर बस्ने होइन । धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ । हामी रोकिदैनौं । त्यसैले हामी सबै मिलेर यो विपद्को सामना गरौं र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौं ।’