कोशीको कटानले जोखिममा विश्वकै पवित्र धार्मिक क्षेत्र बराह धाम ,मन्त्रीले भने: जसरी पनि जोगाउँछु

२०८३ भदौ ०९ गते

कोशीको कटानले जोखिममा विश्वकै पवित्र धार्मिक क्षेत्र बराह धाम ,मन्त्रीले भने: जसरी पनि जोगाउँछु

सुनसरी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई जोगाउन सरकारले विस्तृत अध्ययन गरी चरणबद्ध रूपमा नदी नियन्त्रण तथा संरक्षणका कार्यक्रम अघि बढाउने बताएका छन् । कोशी र मधेस प्रदेशमा ऊर्जा तथा जलस्रोतका आयोजना निरीक्षण तथा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने क्रममा बराहक्षेत्र पुगेका मन्त्री श्रेष्ठले मन्दिरका पुजारी, जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीसँगको छलफलमा बराहक्षेत्र संरक्षण सरकारको प्राथमिकतामा रहेको बताएका हुन् ।


मन्त्री श्रेष्ठले वर्षेनी कोशी नदीको कटान र नदीसँगै बगेर आउने गेग्रानका कारण बराहक्षेत्र धाम जोखिममा पर्दै गएको भन्दै यसको संरक्षणका लागि आवश्यक प्राविधिक अध्ययन तत्काल अघि बढाउने बताए। उनले भने–‘बराहक्षेत्र धार्मिक आस्थाको महत्वपूर्ण धरोहर हो । यसलाई कोशीको कटानबाट जोगाउन सरकार गम्भीर छ । मन्दिर व्यवस्थापन समितिले यसअघि गरेको अध्ययनलाई मन्त्रालयका विज्ञ तथा प्राविधिक टोलीबाट अध्ययन गराएर त्यसैका आधारमा काम गर्न सकिने भए तत्काल कार्य अघि बढाइनेछ । थप अध्ययन आवश्यक देखिए त्यसलाई समेत छिटो पूरा गरी नदी नियन्त्रणको कार्ययोजना कार्यान्वयनमा लगिनेछ ।’

Advertisement:

Ad
Ad


मन्त्री श्रेष्ठका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सञ्चालित नदी नियन्त्रण तथा तटबन्ध कार्यक्रममार्फत बराहक्षेत्र संरक्षणका लागि आवश्यक संरचना निर्माण तथा नदी व्यवस्थापनका काम अघि बढाइनेछ ।

 

छलफलमा सुनसरीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य सिर्जना श्रेष्ठले कोशी नदीको कटान र बाढीसँगै आउने गेग्रानका कारण बराह धाम, चतरा लगायतका क्षेत्रमा वर्षेनी क्षति भइरहेको भन्दै नदी नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरे ।