भोटेकोसी बाढीको बीमा दाबी २५ अर्ब ८७ करोड नाघ्यो, ओरियन्टलमा मात्रै १३ अर्बको दाबी

२०८३ भदौ १६ गते

भोटेकोसी बाढीको बीमा दाबी २५ अर्ब ८७ करोड नाघ्यो, ओरियन्टलमा मात्रै १३ अर्बको दाबी

काठमाडौं । भोटेकोसी नदीमा गत भदौ १० गते आएको भीषण बाढीबाट भएको क्षतिको बीमा दाबी रकम २५ अर्ब ८७ करोड रुपैयाँ नाघेको छ। बाढीबाट उद्योग, पूर्वाधार, सवारीसाधन तथा अन्य सम्पत्तिमा ठूलो क्षति पुगेपछि विभिन्न बीमा कम्पनीमा अर्बौं रुपैयाँका दाबी परेका हुन्।

 

Advertisement:

Ad
Ad

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार भदौ १५ गतेसम्म १५ वटा बीमा कम्पनीमा गरी २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ।

 

क्षतिको सबैभन्दा ठूलो दाबी ओरियन्टल इन्स्योरेन्समा परेको छ। कम्पनीमा ८ जना बीमितले मात्रै करिब १३ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक दाबी गरेका छन्।

 

त्यसैगरी, युनाइटेड अजोडमा ३८ बीमितले ४ अर्ब ९७ करोड रुपैयाँ, सानिमा जीआईसीमा १०२ बीमितले २ अर्ब १० करोड, सिद्धार्थ प्रिमियरमा ६७ बीमितले १ अर्ब ८८ करोड र शिखर इन्स्योरेन्समा १२७ बीमितले १ अर्ब ८७ करोड रुपैयाँ बराबरको दाबी गरेका छन्।

 

अन्य कम्पनीतर्फ हिमालयन एभरेष्टमा ४५ बीमितको ६४ करोड रुपैयाँ, नेको इन्स्योरेन्समा ६६ बीमितको ५१ करोड, सगरमाथा लुम्बिनीमा ३२ बीमितको २४ करोड, नेपाल इन्स्योरेन्समा ३२ बीमितको २३ करोड तथा आईजीआई प्रुडेन्सियलमा २६ बीमितको १८ करोड रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

 

त्यस्तै, एनएलजी इन्स्योरेन्समा २१ बीमितको ११ करोड, प्रभु इन्स्योरेन्समा १४ बीमितको ३ करोड, राष्ट्रिय बीमा कम्पनीमा २ बीमितको ७६ लाख, नेसनल इन्स्योरेन्समा २ बीमितको ५३ लाख र नेपाल माइक्रो इन्स्योरेन्समा एक बीमितको ५ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ।

इन्जिनियरिङ तथा ठेक्का जोखिममा मात्रै २० अर्बभन्दा बढी

 

बाढीबाट भएको क्षतिको ठूलो आर्थिक भार इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा देखिएको छ। यस शीर्षकमा ५२ जना बीमितले २० अर्ब रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी गरेका छन्।

 

त्यस्तै, सम्पत्ति बीमाअन्तर्गत ११३ बीमितबाट २ अर्ब ३४ करोड रुपैयाँ बराबरको दाबी परेको छ। मोटर बीमातर्फ भने ३१३ बीमितले १ अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षतिको दाबी गरेका छन्।

 

परिवहन बीमामा ४७ बीमितको ८९ करोड रुपैयाँ, अन्य बीमाअन्तर्गत ५४ बीमितको ५२ करोड रुपैयाँ तथा स्वास्थ्य बीमामा ४ बीमितको ४ करोड १६ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

दाबी रकम प्रारम्भिक अनुमान मात्रै

 

बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार हालसम्मका दाबी रकमहरू प्रारम्भिक अनुमानमा आधारित छन्। बीमा कम्पनीहरूले क्षतिको स्थलगत निरीक्षण तथा प्राविधिक मूल्यांकन गरेपछि मात्रै वास्तविक क्षतिको रकम यकिन हुनेछ।

त्यसपछि बीमितले पाउने अन्तिम क्षतिपूर्ति रकम निर्धारण हुने भएकाले अहिले सार्वजनिक भएको २५ अर्ब ८७ करोड रुपैयाँको दाबीलाई अन्तिम भुक्तानी रकमका रूपमा लिन नमिल्ने प्राधिकरणले जनाएको छ।