एसपीसँगको विवादपछि कञ्चनपुर भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुन निर्देशन

२०८३ असोज १० गते

एसपीसँगको विवादपछि कञ्चनपुर भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुन निर्देशन

काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीबीच उत्पन्न विवादबारे थप छानबिन गर्न भन्सार विभागले भट्टलाई जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुन निर्देशन दिएको छ ।

विवादसम्बन्धी विभिन्न विवरण सार्वजनिक भएपछि घटनाबारे थप बुझ्नुपर्ने देखिएको भन्दै विभागले भट्टलाई तत्कालका लागि कञ्चनपुर भन्सार कार्यालयको जिम्मेवारीबाट हटाएको हो ।भन्सार पास भएको भनिएको भारतीय नम्बर प्लेटको गाडी रोकेको विषयमा विवाद भएको र भट्टले एसपी केसीलाई गाडी छुटाउन दबाब दिएको भनिएको अडियो सार्वजनिक भएपछि भट्टविरुद्ध एक्शन लिइएको हो ।

Advertisement:

Ad

भन्सार विभागका अनुसार भट्टलाई त्रिपुरेश्वरस्थित विभागको केन्द्रिय कार्यालयमा हाजिर हुन पत्राचार गरिएको छ । विभागले सार्वजनिक भएका विवरण तथा घटनाको वास्तविकताबारे थप जानकारी लिएपछि आवश्यक निर्णय गर्ने जनाएको छ ।

भट्ट र एसपी केसीबीच उत्पन्न विवादबारे विभिन्न विवरण सार्वजनिक भएपछि विभागले आफ्नो तर्फबाट थप अध्ययन गर्न भन्सार अधिकृतलाई विभागमा बोलाएको हो । विभागले यो कदम भट्टमाथि कारबाहीका रूपमा नभई घटनाबारे थप बुझ्न तत्कालका लागि जिम्मेवारीबाट हटाएर विभागमा हाजिर गराइएको जनाएको छ ।