२०८३ असोज ०६ गते
काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद रचना खतिवडा खत्री भावुक हुँदै रोएकी छन् ।
आफूले छोराको शवमाथि सांसद पद साटेको जस्तो गरी अपमानजनक टिप्पणी गरिएको भन्दै उनले संसदको रोस्ट्रममै भक्कानिँदै आफ्नो पीडा पोखिन्। उनी रोएपछि बैठकमा उपस्थित अन्य सांसदसमेत भावुक बनेका थिए ।
खतिवडाले आफूलाई सांसद बन्न आग्रह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन्द्र शाह आफ्नो घरसम्म आएको बताइन् । आफूले कुनै व्यक्तिगत स्वार्थका लागि सांसद पद रोजेको नभई छोराको मृत्युको पीडाबाट जन्मिएको जिम्मेवारीका कारण राजनीतिमा आएको उनको भनाइ थियो ।
‘तपाईंहरूसँग त आफ्नो सन्तान छ, तर मेरो त काख उजाडिएको छ। मेरो ठाउँमा बसेर हेर्नुहोस् त,’ उनले बैठकमा भावुक हुँदै भनिन्, ‘मेरो संसार उजाडिएको छ , एउटा आमाको ममतामाथि आरोप नलगाइदिनुहोस् ।’
आफूलाई कसैको भाग खोसेर सांसद बनेको जस्तो गरी टिप्पणी गरिएको भन्दै उनले त्यसप्रति आपत्ति जनाइन् ।
‘आज पनि कसैले मेरो छोरा ल्याएर मेरो काखमा राखिदिन्छ भने म सांसदबाट राजीनामा दिन्छु,’ उनले भनिन् ।खतिवडाले आफूलाई सामान्य नागरिकलाई उचालेर सांसद बन्न आएको आरोप नलगाउन पनि आग्रह गरिन् ।‘म तपाईंहरूजस्तो सोझो नागरिकलाई उचालेर सांसद बन्न आएको होइन, मेडिकल माफिया बन्न पनि आएको होइन,’ उनले भनिन्, ‘म त अब मेरो छोरा जसरी राज्य व्यवस्थाविरुद्ध आन्दोलन गर्दा अर्को कोही मर्न नपरोस् भनेर सांसद हुन आएको हुँ।’
उनले शहीदहरूको अपमान भइरहेको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाइन्। देशमा ठूलो राजनीतिक परिवर्तन भइसकेपछि पनि सरकारले बाटो बिराए जेनजी आन्दोलनका शहीदले पूर्ण न्याय पाउने दिन आफू सांसद पदबाट राजीनामा दिने उनले बताइन्।
‘शहीदहरूको यति धेरै अपमान हुँदा पनि अहिलेको सरकार किन चुप लागेर बसेको छरु’ उनले प्रश्न गरिन्।
प्रतिक्रिया