सिभिल सहकारी ठगीमा इच्छाराजलाई साढे ५ वर्ष जेल

२०८३ भदौ २६ गते

सिभिल सहकारी ठगीमा इच्छाराजलाई साढे ५ वर्ष जेल

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई सहकारी ठगी तथा संगठित अपराध मुद्दामा ५ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ।

 

Advertisement:

Ad
Ad

जिल्ला अदालत काठमाडौंले  तामाङसहित अन्य प्रतिवादीलाई कैद तथा जरिवाना सजाय निर्धारण गरेको हो। अदालतले तामाङलाई ५० हजार रुपैयाँ जरिवाना समेत तोकेको छ।

 

न्यायाधीश कृतबहादुर बोहराको इजलासले यसअघि भदौ ११ गते तामाङसहित प्रतिवादीहरूलाई ठगी तथा संगठित अपराधमा दोषी ठहर गरेको थियो। बिहीबार सोही फैसलाअनुसार सजाय निर्धारण गरिएको हो। दालतले तामाङसहित प्रतिवादीहरूबाट ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ बिगो कायम गरेको छ। उक्त बिगो प्रतिवादीहरूबाट दामासाहीले असुल गर्न आदेश दिइएको छ।

 

मुद्दामा प्रतिवादी रहेका दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी र प्रविणप्रसाद प्रधानलाई ५ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

 

त्यस्तै केशवलाल श्रेष्ठलाई ५ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना, रामकृष्ण पौडेल र हरिहरप्रसाद लामिछानेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ। मुकुन्दप्रसाद नेउपानेलाई ५ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाइएको छ।

 

दानहिरा तुलाधरलाई एक वर्ष कैद तथा १० हजार रुपैयाँ जरिवाना, नगेन्द्र बिमली, रामराज मास्के र हरिप्रसाद रिसाललाई ६ महिना कैद तथा ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ) र लालकाजी गुरुङलाई पनि एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सुनाइएको छ।

यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा २०८० माघ २१ गते तामाङलाई दोषी ठहर गरेको थियो। उक्त मुद्दामा उनलाई तीन वर्ष कैद र एक करोड ७२ लाख रुपैयाँभन्दा बढी जरिवाना सजाय सुनाइएको थियो।