२०८३ साउन २८ गते
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । थाई एयरबाट आउने देउवा आज विमानस्थलमा १२:५५मा ओर्लिने उनको सचिवालयले जनाएको छ । झन्डै ६ महिनापछि स्वदेश फर्किन लागेका देउवा एक्लै फर्किन लागेका हुन् ।
कांग्रेसको संस्थापनइतर समूहले पूर्वसभापति देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो ।
इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित सांस्कृतिक झाँकी निकालिने जानकारी दिइन् ।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।
स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन् । इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने पनि बताएका छन् ।
प्रतिक्रिया