२०८२ फागुन १२ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मुलुक अब विकास-निर्माणको चरणमा प्रवेश गरेको दाबी गरेका छन्। यसअघि धनगढीको सभामा बालेन साहले बोलेको अभिव्यक्तिको बचाउ गर्दै उनले निर्माण व्यवसायीहरू आत्तिनु नपर्ने र कानुनअनुसार काम गरे कसैले बाधा नपुर्याउने बताए।
धनगढीको सभामा उनले काममा ढिलाइ सह्य नहुने संकेत गर्दै दुई–तीन सिफ्टमा काम गरेर निर्माण छिटो सम्पन्न गर्न आग्रह गरे। साथै उनले नेपाली कांग्रेसका गगन थापालाई लक्षित गर्दै लामो समय सत्ता र संसदमा रहेकाहरूले ढिलै विकासको आवश्यकता बुझेको टिप्पणी पनि गरे।
‘निर्माण व्यवसायीहरू आत्तिनुपर्दैन् । अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो,’ सभापति लामिछानेले भने, ‘बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो, डोरीले बाँध्ने भनेको होइन । कानुनअनुसार काम गरे कसैले केही गर्दैन ।’धनगढीको चुनावी सभामा बालेनले सडक बनाउन ढिलासुस्ती गर्नेलाई रुखमा बाँधेर हुन्छ कि, थुनेर हुन्छ छिटो बनाउन लगाउने भनेका थिए ।
यस्तै सभापति लामिछानेले कांग्रेस सभापति गगन थापालाई लक्ष्य गर्दै २० वर्ष सांसद भएको मान्छेलाई बल्ल ज्ञान आएको भन्दै टिप्पणी गरे । ‘२०(२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईँहरूलाई । बल्ल ज्ञान आयो । तपाईँको ज्ञान तपाईँसँगै राख्नुहोला,’ लामिछानेले भने ।
प्रतिक्रिया