ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

२०८३ भदौ ०४ गते

ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीलगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल जारी रहेको छ । छलफल क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले ठूला भ्रष्टाचार तथा अनियमिततासँग जोडिएका विभिन्न प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् ।

 

Advertisement:

Ad
Ad

शाहीले माओवादी शिविरमा भएको भनिएको अनियमितता, गिरिबन्धु टी–स्टेट प्रकरण, तारागाउँ रिजेन्सी हायात होटलसँग सम्बन्धित जग्गा तथा सेयर प्रकरणलगायतका विषयमा अख्तियारले अहिलेसम्म मुद्दा किन अघि नबढाएको भन्दै प्रश्न गरे ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविर अनियमित माथिको मुद्दा किन चलाएन ? गिरि बन्धु टी स्टेट प्रकरणमा अहिले सम्म मुद्दा किन चलाएन ? तारा गाउँ रिजेन्सी होटेलको जग्गा सेयर प्रक्ररणमा मुद्दा किन चलाएन ? जुन अख्तियारको मापदण्ड भित्र पर्छ,’ उनले प्रश्न गरे ।

 

उनले ती प्रकरणहरू अख्तियारको अनुसन्धानको दायराभित्र पर्ने भए पनि कारबाही प्रक्रिया अघि नबढेको दाबी गरे । कोभिड–१९ को समयमा स्वास्थ्य सामग्री खरिद तथा ओम्नी समूहसँग जोडिएको भनिएको अनियमितताको प्रसंग उठाउँदै शाहीले त्यस विषयमा पनि अहिलेसम्म प्रभावकारी कानुनी कारबाही किन हुन नसकेको भन्दै प्रश्न गरे ।

‘कोभिडको बेलामा सरकारले ओम्नी घोटाला गरेर अर्बों रुपैयाँमा देश टाट पल्टेको थियो त्यसको मुद्दा किन चलेन,’ उनले भने, ‘एनसेलमा टेलिया सोनेरा र एक्जियटाको ८० प्रतिशत सेयर खरिद विक्र हुन्छ । त्यसमा पुँजीगत लाभांश करछली गर्छ त्यो सर्वोच्च अदालतले फैसला गर्छ तर अख्तियारले अहिले सम्म त्यो छोएको पनि छैन मुद्दा पनि चलाएको छैन । जवाफ दिनु होला ।’

 

उनले एनसेलको सेयर कारोबार र त्यससँग जोडिएको पुँजीगत लाभकर विवादको विषय पनि उठाए । टेलिया सोनेरा र एक्जियटासँग सम्बन्धित एनसेलको सेयर बिक्रीमा कर छली भएको विषयमा सर्वोच्च अदालतबाट फैसला भइसकेको दाबी गरे । उनले अख्तियारले उक्त प्रकरणलाई समेत अनुसन्धानको दायरामा किन नल्याएको भन्दै प्रश्न गरे ।