२०८३ साउन २० गते
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले अधिकांश प्रमुख वित्तीय सूचकमा सुधार गर्दै खुद नाफा, सञ्चालन मुनाफा, ईपीएस, निक्षेप तथा कर्जा विस्तारमा उल्लेखनीय वृद्धि हासिल गरेको छ।
समीक्षा अवधिमा बैंकको खुद नाफा २२.६७ प्रतिशतले बढेर ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यद्यपि बैंकको खुद ब्याज आम्दानी भने केही घटेको छ। अघिल्लो वर्ष १६ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने वृद्धि भएको छ। यो आम्दानी ३ अर्ब २२ करोड १७ लाख रुपैयाँबाट बढेर ३ अर्ब ६४ करोड ५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कुल सञ्चालन आम्दानी २.६१ प्रतिशतले बढेर २१ अर्ब ८० करोड ३९ लाख रुपैयाँ पुगेको छ।
सञ्चालन मुनाफा २० प्रतिशतले वृद्धि भई ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा पनि ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १३.३२ रुपैयाँबाट बढेर १६.३४ रुपैयाँ पुगेको छ। यद्यपि खराब कर्जा (एनपीएल) ४.८६ प्रतिशतबाट सामान्य बढेर ४.९६ प्रतिशत पुगेको छ। आधार दर भने ५.७६ प्रतिशतबाट घटेर ४.७५ प्रतिशतमा झरेको छ। प्रतिशेयर नेटवर्थ १८३.१४ रुपैयाँ कायम भएको बैंकले जनाएको छ।
हाल बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा रिजर्भ कोषमा २७ अर्ब १० करोड ९३ लाख रुपैयाँ सञ्चित छ।
व्यवसाय विस्तारतर्फ पनि बैंकले उल्लेखनीय प्रगति गरेको छ। कर्जा प्रवाह ४ खर्ब १० अर्ब ११ करोड रुपैयाँबाट बढेर ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी निक्षेप संकलन ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँबाट बढेर ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
प्रतिक्रिया