फोटो पोस्ट गर्दा गुण्डुबाट फोन : ओलीको अगाडी चुपचाप, पोखरेललाई भोटले साथ !

२०८२ मंसिर २४ गते

फोटो पोस्ट गर्दा गुण्डुबाट फोन : ओलीको अगाडी चुपचाप, पोखरेललाई भोटले साथ !

काठमाडौँ । नेकपा एमाले ११औँ महाधिवेशनको आक्रामक ढंगले प्रचारप्रसारमा जुटेको छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थतीका बीच हुन लागेको महाधिवेशनमा अध्यक्षका दुई उम्मेदवार वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमनेसामने हुँदैछन् । पार्टीमा यतिखेर दुवै अध्यक्षका समर्थक नेता तथा कार्यकर्ताहरु दुई धारमा विभाजित भएर महाधिवेशनको तीब्र तयारीमा जुटेका छन् ।

 

Advertisement:

Ad
Ad

सुदुरपश्चिमबाट आएका पोखरेल पक्षका एक कार्यकर्ताका अनुसार ओली पक्षले प्रचारप्रसारमा जुटेका पोखरेल पक्षका नेता तथा कार्यकर्ताहरुलाई फोन गरेर धम्की दिने गरेका छन् । ती कार्यकर्ताले भने, 'फरक मत राख्ने बित्तिकै अथवा हामीलाई उपाध्यक्ष पोखरेलसँग बसेको फोटो फेसबुकमा शेयर गर्ने बित्तिकै सिधै गुण्डुबाट फोन आइहाल्छ।' धेरैजसोलाई अध्यक्ष ओलीले नै फोन गरेर आफूतिर आउन आग्रह गर्ने तस्विर हटाउन निर्देशन दिने गरेको ती कार्यकर्ता बताउँछन् । 

 

महाधिवेशनमा दुई अध्यक्षका आकांक्षीले आफ्नो पक्षमा जनमत ल्याउन हदैसम्मको रणनीतिहरु तय गरेका छन् । पोखरेल पक्ष ओलीसँग रुस्ट भएका विगतमा फरक मत राखेर हिँडेका नेताहरु आफ्नो पक्षमा तान्ने कसरतमा छन् भने ओली पक्ष सामदाम प्रयोग गरेर फेरी पनि ओलीलाई नै अध्यक्ष बनाउने दाउमा छन् ।  

 

एमालेका प्रभावशाली नेता र ठूलो जमातमा कार्यकर्ता केपी ओलीको पक्षमा देखिएपनि भित्रभित्रै कुँडिएका तर स्पष्ट रुपमा खुल्न नसकेकाहरुले ईश्वर पोखरेललाई मत दिएर जिताउने सम्भावना देखिएको ओली पक्षकै एक कार्यकर्ता बताउँछन् । राप्रपाको उदाहरण सुनाउँदै ओली निकटका ती नेताले भने,'उतिखेर राप्रपामा कमल थापाको अगाडी हुन्छ हस भन्नेहरुले स्वाट्टै राजेन्द्र लिंगदेनलाई भोट हालेर जिताएका थिए । यसपटक एमालेमा पनि त्यहि परिणाम आउन बेर छैन । ओलीको छायाँ पर्नासाथ डराइरहेकाहरुले पोखरेललाई भोट दिएर अध्यक्ष बनाउने सम्भावना देखिएको छ ।' 

 

नेकपा एमालेको आसन्न महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म तीन दिन चल्ने  छ। यही महाधिवेशनले पार्टीको नयाँ कार्यसमिति चयन गर्ने छ ।