२०८३ असार २९ गते
फिक्कल, इङनामलाई आजकल फुर्सद छैन। अधिकांश समय ड्रागन फ्रुटको स्याहारसुसार गर्दै बगानमै बित्ने गरेको छ। बिहानदेखि साँझसम्म उनी ड्रागन फ्रुटको रेखदेखमा व्यस्त हुन्छन्।सात वर्षअघि स्थापना गरिएको ‘भिलेज एग्रो फार्म’ अहिले जिल्लामै धेरै ड्रागन फ्रुट उत्पादन तथा बिक्री गर्ने फार्मका रूपमा परिचित बनेको छ। उनले उक्त खेतीबाट वार्षिक करिब १२ लाख रुपैयाँ आम्दानी गरेका छन्।
दुई बिघा जमिनमा लगाइएका दुई हजार ८०० बिरुवाबाट उत्पादन भएको फल बिक्री गरेर उत्साहित देखिएका इङनामले यस वर्ष उत्पादन बढ्ने भएकाले आम्दानीसमेत बढ्ने अपेक्षा रहेको बताए।उनले आफ्नै जमिनसँगै ३८ कट्ठा जमिन लिजमा लिएर मलेसियन प्रजातिको रातो ड्रागन फ्रुट खेती गरेका छन्। सुरुमा तीन कट्ठा जमिनमा परीक्षणका रूपमा खेती थालेका उनले कम लगानीमै राम्रो आम्दानी हुन थालेपछि खेती विस्तार गरेका हुन्।
'पहिले परीक्षणका लागि तीन कट्ठा जमिनमा ड्रागन फ्रुट रोपेको थिएँ। उत्पादन राम्रो भएपछि क्रमशः बढाउँदै लगेँ,' उनले भने, 'अहिले दुई बिघा ९४० कट्ठा० मा खेती विस्तार गरेको छु। आगामी वर्ष थप विस्तार गर्ने योजना छ।'
उनले उत्पादन गरेको ड्रागन फ्रुटको बजारमा कुनै समस्या छैन। व्यवसायीहरू बगानमै पुगेर खरिद गर्ने गरेका छन्। उनका अनुसार उत्पादन झापाको बिर्तामोड र दमक, मोरङको उर्लाबारी तथा इलाम बजारमा बिक्री हुने गरेको छ।
उनका अनुसार ड्रागन फ्रुट साइजअनुसार प्रतिकेजी २०० देखि ५०० रुपैयाँसम्म बगानबाटै बिक्री हुन्छ। 'उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, व्यापारीहरू बगानमै आउँछन्,' उनले भने।उनको फार्मबाट उनी स्वयं स्वरोजगार बनेका छन् भने पाँच जना स्थानीयले समेत रोजगारी पाएका छन्।
'बगानमा म आफैं खट्छु। त्यसबाहेक पाँच जना श्रमिकलाई रोजगारी दिएको छु,'उनले भने, 'आफू स्वरोजगार भई अरूलाई पनि रोजगारी दिन पाउँदा आत्मसन्तुष्टि मिल्दोरहेछ।'विदेश नगई गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने सन्देश दिन आफूले व्यावसायिक कृषि सुरु गरेको उनले बताए।
'बेरोजगार युवा विदेशिने क्रम रोक्न र गाउँमै बसेर पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक रूपमा खेती सुरु गरेको हुँ,' उनले भने, 'निरन्तरता दिँदै नयाँ प्रविधिसहित काम गर्ने हो भने गाउँमै राम्रो कमाइ गर्न सकिन्छ।'
कम समय, कम श्रम र कम लगानीमा राम्रो उत्पादन तथा आम्दानी गर्न सकिने भएकाले उनले व्यावसायिक ड्रागन खेतीमा जोड दिएका छन्। परम्परागत अन्नबालीमा सीमित किसानका लागि उनको खेती प्रेरणादायी बनेको छ। राम्रो बजार र आकर्षक आम्दानीका कारण स्थानीय किसानको समेत यसतर्फ आकर्षण बढ्न थालेको छ।
चुलाचुली गाउँपालिका–२ बुढीझोडाकी मायतीमाया लिम्बूले पनि व्यावसायिक ड्रागन फ्रुट खेती गर्दै आएकी छन्। छ वर्षअघि ‘छथरे ड्रागन फ्रुट कृषि फार्म’ दर्ता गरी खेती थालेकी उनले अहिले आठ कट्ठा जमिन लिजमा लिएर ६५० बोट ड्रागन फ्रुट रोपेकी छन्।
उनका सबै बिरुवाले उत्पादन दिन थालेका छन्। 'लगानी धेरै नचाहिने र उत्पादन राम्रो हुने भएकाले आठ कट्ठा जमिनमा ड्रागन फ्रुट खेती गर्दै आएकी छु,' उनले भनिन्। 'अन्य अन्नबालीभन्दा मिहिनेत कम र आम्दानी धेरै हुने भएकाले यसलाई अझ विस्तार गर्ने योजना छ।'
सबै खर्च कटाएर उनले वार्षिक एक लाख २५ हजार रुपैयाँ आम्दानी गरेको बताइन्।इङनाम र लिम्बूमात्र होइन, पछिल्लो समय जिल्लाका अन्य किसानको पनि ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको छ। राम्रो आम्दानी हुन थालेपछि स्थानीयले परम्परागत खेती छोडेर व्यावसायिक ड्रागन खेती रोज्न थालेका छन्।
चुलाचुलीमा ड्रागन फ्रुट खेती प्रवर्द्धनमा स्थानीय सरकारको समेत सहयोग रहेको छ। इङनामको फार्मलाई चुलाचुली गाउँपालिकाले र लिम्बूको फार्मलाई कृषि ज्ञान केन्द्रले अनुदान उपलब्ध गराएको छ।इङनामको ‘भिलेज एग्रो फार्म’लाई आर्थिक वर्ष २०८०र८१ मा ड्रागन फल खेती प्रवर्द्धनका लागि गाउँपालिकाले चार लाख रुपैयाँ अनुदान दिएको थियो। उनले प्राप्त अनुदानले बगान व्यवस्थापन र नयाँ बिरुवा थप्न सहयोग पुगेको बताए।
त्यस्तै, ‘छथरे ड्रागन फ्रुट कृषि फार्म’लाई बगान व्यवस्थापनका लागि सोही वर्ष कृषि ज्ञान केन्द्र इलामबाट ५० प्रतिशत लागत साझेदारीमा दुई लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको थियो। उक्त अनुदानले बगान व्यवस्थापनमा सहयोग पुगेको लिम्बूले बताइन्।
चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
'हामीले विगतदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ,' उनले भने, 'आगामी वर्ष पनि किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नेछौँ। त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरेका छौँ।'
हाल इलामको चुलाचुलीसँगै माई नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा पनि ड्रागन फ्रुट खेती विस्तार भइरहेको छ। पछिल्लो समय नेपालमा आकर्षक तथा पौष्टिक फलका रूपमा ड्रागन फ्रुट लोकप्रिय बन्दै गएको छ। समथर जमिनमा ड्याङ बनाएर पिलर गाड्ने र तारको सहारामा लगाउन सकिने भएकाले यसको व्यावसायिक खेती विस्तार हुँदै गएको छ।
प्रतिक्रिया