जागिर पाउने आशमा युरोप पुगेका तोपबहादुर शरणार्थी बनेर फर्किए घर

२०८३ साउन २८ गते

जागिर पाउने आशमा युरोप पुगेका तोपबहादुर शरणार्थी बनेर फर्किए घर

बैतडी । वैदेशिक रोजगारीको प्रलोभनमा परेर बैतडीको सुर्नया गाउँपालिका वडा नं. ३ का सन्तोष ऐरी ठगिएका छन्। कञ्चनपुरका तोपबहादुर विष्टले स्लोभाकिया पठाइदिने प्रलोभन देखाएर उनलाई विभिन्न देश पुर्‍याउँदै बिचल्लीमा पारेका हुन्।

 

Advertisement:

Ad
Ad

विष्टले ऐरीलाई स्लोभाकियाको सुपरमार्केटमा फुड प्याकिङको काममा लगाइदिने भन्दै विभिन्न मितिमा गरी १५ लाख २५ हजार रुपैयाँ असुलेका थिए। नेपालबाट २०८२ माघमा उडेका ऐरीलाई सुरुमा पोल्याण्ड पुर्‍याइएको थियो। त्यसको केही दिनपछि स्लोभाकिया पुगेका उनलाई सम्बन्धित कम्पनीले रिसिभ नै गरेन। त्यसपछि मात्रै आफूहरू ठगिएको चाल पाएको पीडित ऐरीले बताए।

 

स्लोभाकियामा काम नपाएपछि विष्टले उनलाई स्पेन हुँदै जर्मनीको शरणार्थी शिविरसम्म पुर्‍याएका थिए। त्यहाँबाट जसोतसो गरी ऐरी हालै मात्र स्वदेश फर्किएका छन्।

 

घटनाबारे पीडित ऐरी भन्छन्, ‘मलाई सुरुमा फुड प्याकिङमा काम दिलाउने भन्दै विभिन्न मितिमा १५ लाख २५ हजार रुपैयाँ लिए। नेपालबाट उडाएर पोल्याण्ड पुर्‍याए, त्यसपछि स्लोभाकिया पुर्‍याए पनि कुनै काम दिइएन। त्यहाँ जाँदा हामीले कुनै कामदार मगाएका छैनौँ भनियो। त्यसपछि स्पेन हुँदै जर्मनीको शरणार्थी शिविरमा पुर्‍याइयो, जहाँबाट जसोतसो गरेर नेपाल फर्किएँ।’

 

नेपाल फर्केपछि आफूलाई ठगी गर्नेहरूसँग रकम फिर्ता माग गर्दा उल्टै तमसुक बनाएर मिति तोकिएको ऐरीले बताएका छन्। २०८२ फागुन ७ गते तमसुक नै बनाएर २०८३ वैशाख महिनामा पैसा फिर्ता गरिदिने सर्तमा विष्टले सहिछाप गर्नुका साथै सोही मितिको चेक समेत उपलब्ध गराएका थिए। तर, उक्त चेक हालसम्म पनि नसाटिएपछि ऐरी कानुनी कारबाहीका लागि अगाडि बढेका छन्।

 

यता, आरोपित कञ्चनपुरको बेलडाँगीका तोपबहादुर विष्टले भने स्लोभाकियाका लागि भिसा आइसकेको अवस्थामा सन्तोष ढिलो गरी सम्पर्कमा आएका कारण कम्पनीले नलिएको दाबी गरेका छन्।

 

‘भिसा आइसकेको छ, छिटो काठमाडौँ आउनु भनेको हुँ, तर उनीहरूले विभिन्न बहाना बनाएर ढिलाइ गरे, त्यसपछि कम्पनीले लिएन,’ विष्टले भने। आफू एजेन्ट नभएको जिकिर गर्दै उनले चिनजानका रामराज पौडेलमार्फत विदेश पठाइएको र सम्पूर्ण पैसा पनि पौडेलले नै बुझेको आरोप लगाए।

 

‘मैले उनीहरूलाई बीचमा समन्वय मात्रै गरेको हो, पैसा फिर्ता गर्न मिलेर मुद्दा लडौँ भनेको छु,’ विष्टको भनाइ छ।

 

तर, पीडित ऐरीसँग भएको प्रमाण र हस्ताक्षर गरिएको तमसुक तथा चेकले भने विष्टले नै रकम लिएर विदेश पठाएको पुष्टि गर्छ।