२०८३ असार ०१ गते
काठमाडौं । पैसाको अभावमा उपचार नपाएर आफ्नै आँखाअगाडि सन्तान छटपटाइरहेको हेर्नु कुनै पनि आमाका लागि असह्य पीडा हो । झन् आफ्नो पसिनाको कमाइ बैंकमा थन्किएको छ, तर त्यही पैसा निकाल्न नपाउँदा सन्तानलाई बचाउन नसक्नुको पीडा शब्दमा बयान गर्न गाह्रो हुन्छ ।
दाङको तुल्सीपुरकी पष्टकली खत्री अहिले यस्तै पीडाको भारी बोकेर बाँचिरहेकी छन् । जीवनभर दुःख गरेर जम्मा गरेको रकम कर्णाली विकास बैंकमा सुरक्षित होला भन्ने विश्वास गरेकी उनले त्यही बचत फिर्ता नपाउँदा क्यान्सरबाट पीडित आफ्ना दुई छोरालाई समयमै उपचार गराउन सकिनन्।
उपचारको अभावमा एकपछि अर्को गर्दै दुवै छोराले संसार छाडे। आफ्नै कमाइ बैंकमा थन्किएको अवस्थामा सन्तानलाई बचाउन नसकेको पीडाले उनी यति धेरै थलिएकी छन् कि कहिलेकाहीँ आफू बाँचेको अर्थसमेत खोज्न नसक्ने अवस्थामा पुगेको बताउँछिन्। उनका लागि कर्णाली विकास बैंकको संकट अब केवल आर्थिक क्षति मात्र होइन, कहिल्यै नमेटिने घाउ बनेको छ।
हजारौं बचतकर्ताको साझा पीडा
कर्णाली विकास बैंकमा देखिएको वित्तीय संकटले बाँके मात्र होइन, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र जुम्लासम्मका हजारौं बचतकर्तालाई समस्यामा पारेको छ।
दक्षिण कोरियामा नौ वर्ष पसिना बगाएर जम्मा गरेको २१ लाख रुपैयाँ फिर्ता नपाउँदा दाङको तुल्सीपुरका निर्मल बस्नेत यतिबेला निराश छन्।
‘जीवनभरको कमाइ सुरक्षित राख्ने ठाउँ बैंक हो भन्ने विश्वास थियो। घर फर्किएपछि केही गरौँला भनेर बचत निकाल्न जाँदा बैंक नै समस्यामा परेको थाहा पाएँ। अहिले मेरो दैनिकी बचतकर्तालाई संगठित गरेर बचत फिर्ताको अभियान चलाउने बनेको छ,’ बस्नेत भन्छन्।
उनका अनुसार पछिल्लो १८ महिनामा तीन पटक गरेर जम्मा १५ हजार रुपैयाँ मात्रै फिर्ता पाएका छन्।बैंकमा बचत गरेका धेरैको अवस्था यस्तै छ। बचतकर्ताहरूका अनुसार रकम झिक्नका लागि एक साताअघि नाम टिपाउनुपर्ने हुन्छ। त्यसपछि अर्को साता पाँच हजार रुपैयाँसम्म मात्रै उपलब्ध गराइने गरिएको थियो।
दाङका विश्वनाथ कँडेलले बुढेसकालमा आवश्यक पर्दा प्रयोग गरौँला भनेर १० वर्षअघि खाता खोलेका थिए। केही वर्षअघि उनले नौ लाख रुपैयाँ मुद्दती निक्षेप र ६४ हजार रुपैयाँ बचत खातामा राखेका थिए।
‘अचानक बैंकको कारोबार प्रभावित भयो। पहिले यस्तो अवस्था थिएन। अहिले डेढ वर्षदेखि आवश्यक पर्दा पैसा लिन जाँदा नाम टिपाएर मुश्किलले पाँच हजार रुपैयाँ पाउने अवस्था भयो। चाहिएको बेला आफ्नै पैसा पाइँदैन भने बैंकमाथि कसरी विश्वास गर्ने रु’ उनी प्रश्न गर्छन्।
प्रेसरका कारण अस्पताल भर्ना भएकी श्रीमतीलाई छाडेर बैंकमा पैसा लिन धाउन बाध्य भएका जीवन भट्टदेखि वैदेशिक रोजगारीमा पुनः जान लागेका श्रीमानको टिकट काट्न पैसा नपाएर समस्यामा परेकी जुम्लाकी भूमिसरा कठायतसम्म, सयौं परिवारको दैनिकी बैंक धाउने र रित्तो हात फर्किने बनेको छ।
बैंकमा ४ अर्ब ३० करोड निक्षेप
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकमा करिब चार अर्ब ३० करोड रुपैयाँ निक्षेप रहेको छ।बैंक व्यवस्थापनका लागि खटिएको टोलीका संयोजक तथा नेपाल राष्ट्र बैंकका उपनिर्देशक टीकाराम खतिवडाका अनुसार तत्काल सबै निक्षेप फिर्ता गर्न सम्भव नभएकाले बैंकलाई पुनः सञ्चालनमा ल्याउने योजना अघि बढाइएको छ।
हाल कर्जा असुलीलाई प्राथमिकता दिइएको छ। असुली भएको रकम र अन्य स्रोतबाट प्राप्त रकम क्रमशः निक्षेपकर्तालाई फिर्ता गर्ने काम भइरहेको छ। केही कर्जा अन्य बैंकलाई बिक्री गरेर पनि रकम जुटाउने प्रयास भइरहेको छ।
उनका अनुसार बैंकलाई पुनर्जीवित गरेपछि मात्रै नयाँ व्यवस्थापन वा लगानीकर्तालाई जिम्मा दिने योजना छ। अनियमिततासम्बन्धी छानबिन पनि जारी रहेको छ।
बचत फिर्ताका लागि राष्ट्र बैंकको प्रयास
कर्णाली विकास बैंक खराब कर्जामा फसेपछि नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गते समस्याग्रस्त संस्था घोषणा गर्दै यसको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो।राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले हाल बैंक सञ्चालन गरिरहेको छ। बैंकका अनुसार हालसम्म ४७ करोड ९४ लाख रुपैयाँ निक्षेपकर्तालाई फिर्ता भुक्तानी गरिएको छ।
राष्ट्र बैंकले ऋण असुलीबाट प्राप्त रकमका आधारमा निक्षेप फिर्ता गर्ने कार्य जारी रहेको जनाएको छ। साथै निक्षेप अपचलनमा संलग्न व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको र संस्थाको सुदृढीकरणको काम भइरहेको जनाएको छ।
तर बचतकर्ताहरू भने नियामक निकाय राष्ट्र बैंकले बचत फिर्तामा भइरहेको ढिलाइप्रति पर्याप्त चासो नदिएको आरोप लगाउँछन्। उनीहरू विभिन्न चरणमा आन्दोलन र धर्ना कार्यक्रम गर्दै आएका छन्।
यता व्यवस्थापन समूहले भने आन्दोलन र दबाबका गतिविधिले समस्या समाधानको प्रक्रियामा थप अवरोध सिर्जना गर्न सक्ने भन्दै संयमता अपनाउन आग्रह गर्दै आएको छ। समूहले सम्पूर्ण निक्षेपकर्ताको हित र निक्षेप सुरक्षाप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ।
बचत फिर्ता पनि ठप्प
गत जेठ ५ गते बैंकले सूचना जारी गर्दै तरलता अभावका कारण अर्को व्यवस्था नभएसम्म निक्षेप फिर्ता कार्य स्थगित गरिएको जनाएको थियो।बचत फिर्ता नै रोकिएपछि पीडित बचतकर्ताहरू थप दबाब सिर्जना गर्न काठमाडौं केन्द्रित आन्दोलनको तयारीमा जुटेका छन्।
कर्णाली विकास बैंक पीडित बचतकर्ता संघर्ष समितिले असार १ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना र आन्दोलनका कार्यक्रम गर्ने तयारी गरेको छ।पीडित बचतकर्तामध्येका एक निर्मल बस्नेत आन्दोलनलाई अब निर्णायक बनाउने बताउँछन्।
‘बाहिर बसेर जति कराए पनि कसैले सुनेन। अब माइतीघरमै बसेर आन्दोलन चर्काएपछि सरकार र राष्ट्र बैंकको ध्यान पुग्छ कि भन्ने आशा गरेका छौँ,’ उनले भने।
प्रतिक्रिया