२०८३ साउन २९ गते
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक ९आइजीपी०माथि प्रमाणबिनै गम्भीर आरोप लगाइएको भन्दै गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा कडा रूपमा प्रस्तुत भएका छन्। रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी नेतृत्वमाथि लगाएको आरोपप्रति असन्तुष्टि जनाउँदै गृहमन्त्रीले आरोप पुष्टि नभएसम्म कसैलाई दोषी करार गर्न नपाइने जिकिर गरे ।
समितिमा बोल्दै गृहमन्त्री गुरुङले उजुरी मात्रका आधारमा कोही न्यायाधीश बन्न नमिल्ने भन्दै कसैको चरित्रहत्या गर्ने शैली स्वीकार्य नहुने बताए। उनले प्रहरी संगठनमाथि लगाइएको आरोपप्रति गृहमन्त्रालयको पूर्ण ध्यानाकर्षण भएको उल्लेख गर्दै, प्रमाणबिनाका सार्वजनिक आरोपले संस्थाको मनोबल कमजोर बनाउने चेतावनी दिए।
'उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप पुष्टि नभएसम्म कसैलाई दोषी करार गर्नु उचित हुँदैन। कसैको चरित्रहत्या गर्न पाइँदैन,दिश इज नट गुड' गृहमन्त्री गुरुङले भने।उनले नेपाल प्रहरीका कर्मचारीहरूले आफ्नो जिम्मेवारी निर्वाहमा मेहनत गरिरहेको उल्लेख गर्दै, उनीहरूको कामप्रति सरकारको कुनै द्विविधा नरहेको पनि बताए। यदि कुनै आरोपमा तथ्य र प्रमाण भेटिए कानुनअनुसार कारबाही हुने, तर प्रमाणबिनै सार्वजनिक रूपमा दोषारोपण गर्नु न्यायोचित नहुने उनको भनाइ थियो।
प्रहरी पोशाक खरिदसम्बन्धी विषयमा सांसद सुनारले आइजीपीमाथि आर्थिक अनियमितताको आरोप लगाएपछि गृहमन्त्री गुरुङले त्यसप्रति कडा आपत्ति जनाउँदै जिम्मेवार बन्न आग्रह गरेका हुन् ।
प्रतिक्रिया