२०८३ भदौ २१ गते
काठमाडौं । रसुवागढी नाका बाढीका कारण प्रभावित भएपछि चीनसँगको व्यापारका लागि मुस्ताङस्थित कोरला नाकालाई वैकल्पिक नाकाका रूपमा प्रयोग गरिने भएको छ। कोरला नाकाबाट आयात हुने वस्तुको भन्सार जाँचपास भने काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाहमा गर्न सकिने व्यवस्था गरिएको छ।
भन्सार विभागले कोरला भन्सार कार्यालयमा आएका मालवस्तुलाई त्यहीँ जाँचपास नगरी आन्तरिक परिवहन सुविधामार्फत चोभार सुख्खा बन्दरगाहसम्म ल्याएर जाँचपास गर्न सकिने व्यवस्था गरेको हो।
यसका लागि विभागले कोरला नाकादेखि चोभारसम्म मालवाहक सवारीसाधन सञ्चालन गर्ने निश्चित रुटसमेत तोकेको छ। निर्धारित रुटअनुसार मालवाहक सवारीले कोरला नाका–नेचुङ (भन्सार)–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिन–कुरिनटार–नौबिसे–कलङ्की हुँदै चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालय पुग्नुपर्नेछ।
निर्धारित मुख्य सडकमा कुनै कारणले आवागमन प्रभावित भएमा अर्को वैकल्पिक रुटबाट पनि मालवाहक सवारी सञ्चालन गर्न सकिनेछ। विभागले त्यसका लागि मुग्लिन–नारायणघाट–हेटौंडा–भैंसे–नौबिसे–कलङ्की–चोभार सुख्खा बन्दरगाहलाई वैकल्पिक मार्ग तोकेको छ।
यसैगरी, कोरला नाकाबाट नेपाल भित्रिने नयाँ सवारीसाधनलाई पनि तोकिएको रुटअनुसार नै चोभारसम्म ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
नयाँ सवारीसाधनका लागि विभागले कोरला नाका–नेचुङ–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिन–नारायणघाट–हेटौंडा–भैंसे–फर्पिङ हुँदै चोभार सुख्खा बन्दरगाहसम्मको रुट निर्धारण गरेको छ।
रसुवागढी नाकाको पूर्वाधार तथा सडक सम्पर्क बाढीबाट प्रभावित बनेपछि उत्तरी सीमाबाट हुने व्यापारलाई निरन्तरता दिन कोरला नाकाको प्रयोग बढाउने सरकारको तयारी छ। चोभारमा जाँचपासको सुविधा उपलब्ध गराइएपछि कोरला हुँदै आउने वस्तुलाई काठमाडौंसम्म ल्याएर भन्सार प्रक्रिया पूरा गर्न सहज हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया