कुलेखानी जलविद्युतको ताल भरिन ४ मिटरमात्र बाँकी, प्रतिघण्टा २३ सेन्टिमिटर बढ्दै

२०८३ असोज ११ गते

कुलेखानी जलविद्युतको ताल भरिन ४ मिटरमात्र बाँकी, प्रतिघण्टा २३ सेन्टिमिटर बढ्दै

हेटौंडा । मुलुककै ठूलो जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर (जलाशय) मा पानी संकलन हुने क्रम बढ्दो छ । आइतबार एक घण्टामै कुलेखानी जलाशयमा २३ सेन्टिमिटर पानीको सतह बढेको छ । जलाधार क्षेत्रमा शनिबार रातिदेखि अहिलेसम्म भारी वर्षा भइरहेकाले जलाशयको सतह बढेको हो ।

 

Advertisement:

Ad

शनिबार दिउँसो जलाधार क्षेत्रमा पानी परेको थिएन, जसले गर्दा जलाशयमा प्रतिघण्टा ३ सेन्टिमिटरमात्र पानीको सतह बढेको थियो । शनिबार रातिदेखि जलाधार क्षेत्रमा भारी वर्षा भएकाले जलाशयमा प्रतिघण्टा २३ सेन्टिमिटरदेखि २५ सेन्टिमिटरसम्म पानी बढिरहेको प्रथम कुलेखानी जलविद्युत् आयोजनाका प्रमुख प्रल्हाद राउतले बताए । ‘जलाशयको पानी खपत गर्ने उद्देश्यले कुलेखानीका तीनवटै युनिट २४ सै घण्टा सञ्चालन गरिएको छ,’ उनले भने ।

 

जलाशयको जलाधार क्षेत्रमा वर्षा कम हुँदै गएकाले इन्द्रसरोवरमा पानी संकलन हुने क्रम पनि बढ्दै गएको हो । कुलेखानी जलाशयको सतह आइतबार साढे ७ बजेसम्म १ हजार ५ सय २५ दशमलव ७२ मिटर पुगेको छ । बिहान साढे ६ बजे जलाशयको सतह १ हजार ५ सय २५ दशमलव ४९ मिटर थियो । एक घण्टामा २३ सेन्टिमिटर पानीको सतह बढेको प्रथम कुलेखानी जलविद्युत् आयोजनाका प्रमुख राउतले जानकारी दिए ।


नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशय भरिन अझै ४ दशमलव २८ मिटर बाँकी छ । ‘तत्काल जलाशय भरिने अवस्था छैन, जलाधार क्षेत्रमा पानी पर्ने क्रम आइतबार ७ बजेपछि कम हुँदै गएको छ,’ कुलेखानी जलविद्युत् आयोजनाका एक अधिकृतले भने ।

 

कुलेखानी जलविद्युत् आयोजनाका अनुसार कुलेखानी जलाशयको बाँधमा पानीको सतह १ हजार ५ सय २७ मिटर पुगेपछि पहिलो साइरन बज्ने व्यवस्था गरिएको छ । कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ । त्योभन्दा बढी भएपछि बाँधको ढोका खोल्नुपर्छ ।

 

कुलेखानी जलाशयको सात वटा जलाधार क्षेत्रको क्षेत्रफल १ सय ६६ वर्ग किलोमिटर रहेको छ । जलाशयको पानी खपत गर्ने उद्देश्यले कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिट २४ सै घण्टा सञ्चालन गरिएको छ । तीनवटै युनिट २४ सै घण्टा सञ्चालन गर्दा करिब ४० देखि ५० सेन्टिमिटर पानी खपत हुने गर्छ । कुलेखानी प्रथमबाट ६० मेगावाट विद्युत् उत्पादन हुन्छ भने दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट गरी १०८ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

 

कुलेखानी जलाधार क्षेत्रमा निरन्तर वर्षा भएसँगै सम्भावित जोखिमलाई न्यूनीकरण गर्न पानी संकलन नगरी विद्युत् उत्पादन गरिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कुलेखानी जलविद्युत् आयोजनाले जलाशय भरिनुभन्दा अगाडि बाँध खोल्नुपर्ने अवस्था आउन सक्छ भनेर साइरनको व्यवस्था गरेको छ । कुलेखानी जलाशयको तल्लो तटीय भाग सिस्नेरीलगायतका क्षेत्रमा साइरन जडान गरिएको छ । कुलेखानी जलाशयको ३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइ रहेको छ ।