कुमारी बैंकको नाफामा २९३ प्रतिशतको छलाङ, वितरणयोग्य मुनाफा पनि सकारात्मक

२०८३ साउन २७ गते

कुमारी बैंकको नाफामा २९३ प्रतिशतको छलाङ, वितरणयोग्य मुनाफा पनि सकारात्मक

काठमाडौं। कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, सञ्चालन आम्दानी र वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार गरेको जनाएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा करिब तीन गुणाभन्दा बढी बढाउन सफल भएको छ भने लामो समयपछि वितरणयोग्य मुनाफा पनि ऋणात्मक अवस्थाबाट धनात्मकमा फर्किएको छ।

 

Advertisement:

Ad
Ad

सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा २९३ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ८७ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको प्रमुख आम्दानीको स्रोत रहेको खुद ब्याज आम्दानी तथा फी तथा कमिसन आम्दानीमा भएको वृद्धिले नाफामा उल्लेख्य सुधार गर्न सहयोग पुगेको देखिन्छ।

 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ पुगेको छ। यस्तै, खुद फी तथा कमिसन आम्दानी २ अर्ब ६६ करोड १६ लाख रुपैयाँबाट बढेर ३ अर्ब ४ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

 

आम्दानी बढेसँगै बैंकको कुल सञ्चालन आम्दानी ७.६६ प्रतिशतले वृद्धि भई १६ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ। 

 

बैंकको वित्तीय सुधारको परिणाम प्रतिशेयर सूचकहरूमा पनि देखिएको छ। प्रतिशेयर आम्दानी (ईपीएस) ६.९४ रुपैयाँबाट बढेर २८.१७ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७०.८० रुपैयाँ कायम भएको छ।

 

यद्यपि, बैंकको खराब कर्जा (एनपीएल)भने केही बढेको छ। अघिल्लो वर्ष ६.९५ प्रतिशत रहेको एनपीएल समीक्षा अवधिमा बढेर ७.४६ प्रतिशत पुगेको छ, जसले सम्पत्ति गुणस्तरमा अझै चुनौती रहेको संकेत गर्छ।

 

वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा उल्लेखनीय रूपमा सुधारिएको छ। अघिल्लो वर्ष ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा एक वर्षमै ७९ करोड १६ लाख रुपैयाँ धनात्मक भएको छ। यसले अबका दिनमा लाभांश वितरणको सम्भावनालाई बलियो बनाएको छ ।

 

बैंकको रिजर्भ कोष पनि १४ अर्ब ७४ करोड रुपैयाँबाट बढेर १७ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। हाल बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ।

 

बैंकको कर्जा लगानी २ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँबाट बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ३ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँबाट बढेर ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ नाघेको छ। यससँगै बैंकको कुल सम्पत्ति पनि ४ खर्ब ४१ अर्ब रुपैयाँबाट बढेर करिब ४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ।