२०८३ भदौ ०२ गते
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले साउन १४ गतेदेखि २० गतेसम्म निष्कासन गरेको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ भदौ १ गते बाँडफाँट गरेको हो । बैंकले १० वर्ष अवधिको उक्त ऋणपत्र वार्षिक ७ प्रतिशत ब्याजदरमा निष्कासन गरेको थियो । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्रमार्फत बैंकले ३ अर्ब रुपैयाँ जुटाएको हो ।
कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थालाई बिक्री गरिएको बैंकले जनाएको छ । बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो भने बाँकी ऋणपत्र सार्वजनिक निष्कासनमार्फत बिक्री गरिएको हो ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडले सम्हालेको थियो । ऋणपत्र प्राप्त गर्ने लगानीकर्ताले यसबाट प्राप्त हुने ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टा गरी प्राप्त गर्नेछन् । बैंकले दीर्घकालीन स्रोत जुटाउन उक्त ऋणपत्र निष्कासन गरेको हो ।
प्रतिक्रिया