२०८३ भदौ २६ गते
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना साधारण सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
भदौ २५ गते बसेको बैंकको सञ्चालक समितिको ५६४औँ बैठकले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकका अनुसार ३ प्रतिशत बोनस सेयरबापत ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ र ३ प्रतिशत नगद लाभांशबापत पनि सोही बराबरको रकम छुट्याइएको छ । नगद लाभांशमा बोनस तथा नगद लाभांशबापत लाग्ने करसमेत समावेश गरिएको छ।
त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशतका दरले ७ करोड ४५ लाख ९९ हजार ४१ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ ।
प्रतिक्रिया