२०८३ भदौ १३ गते
काठमाडौं । एनसेलले रसुवा बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणमा सञ्चारको महत्व हुने भन्दै निःशुल्क थप ७ दिन भ्वाइस, डेटा र एसएमएस सेवा दिने भएको छ । भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि भोलि शनिबारबाट लागु हुने गरी थप ७ दिन बढाइएको एनसेलले जनाएको छ ।
यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो र सोही अनुसार सेवा दिदै आएको थियो । तीन दिने अवधि आज समाप्त हुँदै थियो ।
विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा उद्धार र राहत वितरणका पहललाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ । प्रभावित समुदायका सर्बसाधारणलाई परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सम्पर्कमा रहन सजिलो बनाउँदै कम्पनीले उक्त निःशुल्क सेवा अवधि थप गरेको जनाएको छ ।
प्रतिक्रिया