२०८२ चैत १८ गते
काठमाडौँ। बुधबार शेयर बजारमा तीव्र गिरावट देखिएको छ। नेप्से परिसूचक ७४.७३ अंकले ओरालो लाग्दै २७७६ विन्दुमा झरेको हो। बजार खुलेदेखि नै सूचक दिनभर नकारात्मक क्षेत्रमै सीमित रह्यो।
यसअघि आइतबार र सोमबार दुई दिनमा कुल ११९ अंक गुमाएको बजारले मंगलबार भने १९.७ अंकको सामान्य सुधार देखाएको थियो। तर त्यो सुधार टिक्न नसक्दा बुधबार पुनः ठूलो गिरावट आएको छ।
यद्यपि सूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। अघिल्लो दिन ११ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १२ अर्ब १० करोड रुपैयाँ पुगेको छ। आज १३ कम्पनीका शेयर मूल्य बढ्दा २५५ कम्पनीको मूल्य घटेको छ।
समूहगत रूपमा हेर्दा सबै सूचकहरू ओरालो लागेका छन्। अन्य समूह सबैभन्दा धेरै ५.२६ प्रतिशतले घटेको छ। बैंकिङ २.३१ प्रतिशत, विकास बैंक ३.१८ प्रतिशत, फाइनान्स ३.०३ प्रतिशत, होटल तथा पर्यटन २.१२ प्रतिशत, हाइड्रोपावर २.८१ प्रतिशत, लगानी २.६७ प्रतिशत, जीवन बीमा २.०२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३९ प्रतिशत, माइक्रोफाइनान्स १.९९ प्रतिशत, निर्जीवन बीमा २.२२ प्रतिशत र व्यापार समूह ३.९६ प्रतिशतले घटेका छन्।
कम्पनीगत रूपमा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशतले घटेको छ। त्यसपछि सप्तकोशी विकास बैंक ७.२८ प्रतिशत, नेसनल हाइड्रोपावर ७.१७ प्रतिशत, शिवश्री हाइड्रोपावर ७ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावर ६.४१ प्रतिशतले घटेका छन्।
यता हालै सूचीकृत केही कम्पनीमा भने सकारात्मक प्रभाव देखिएको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेका छन्।
प्रतिक्रिया