२०८३ साउन २८ गते
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आफ्नो धारणा राख्दै देशको वर्तमान राजनीति, पार्टीको आन्तरिक अवस्था र भविष्यको मार्गचित्रबारे आफ्ना धारणाहरू स्पष्ट पारेका हुन्।
पाँच महिनाको उपचारपछि स्वदेश फर्कँदा आफूलाई गहिरो भावनात्मक अनुभूति भएको बताउँदै देउवाले भनेका छन्, ‘म आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु( सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन आएको हुँ ।’
आफ्नो सन्देशमा देउवाले नेपाली कांग्रेसको ऐतिहासिक भूमिकाको स्मरण गरेका छन् । वि.सं. २००७ सालदेखिको राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको उल्लेख गर्दै उनले बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता अग्रज नेताहरूको त्याग र योगदानलाई कहिल्यै भुल्न नहुने बताएका छन् । कांग्रेस केवल सत्ताको लागि नभई जनताको विश्वासको प्रतीक भएको उनको भनाइ छ ।
सभापति देउवाले युवा पुस्ताको आकांक्षा र परिवर्तनको मागलाई आत्मसात् गरेको उल्लेख गरेका छन् । ‘मैले हाम्रो युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै सुनेको छु,’ उनले भनेका छन् । विश्व बदलिएको र समयको गतिसँगै अघि बढ्नुपर्ने कुरालाई स्वीकार गर्दै उनले समाजका सबै वर्ग र समुदायको सार्थक सहभागिता सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
वर्तमान सरकारलाई लक्षित गर्दै देउवाले जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्ने सुझाव दिएका छन् । राजनीतिक आग्रह र पूर्वाग्रह राखेर अघि बढ्दा त्यसले सत्तासीन दल र मुलुक दुवैलाई हित नगर्ने उनको तर्क छ । उनले नेपाली कांग्रेस जस्तोसुकै परिवर्तनको व्यवस्थापनमा सहयोग गर्न तयार रहेको तर हरेक रूपान्तरण विवेक, पारदर्शिता र न्यायका आधारमा हुनुपर्नेमा जोड दिए ।
पार्टीभित्र देखिएको निराशा र असमझदारीलाई चिर्नु अहिलेको मुख्य आवश्यकता रहेको देउवाको भनाइ छ । उनले विगतका माओवादी सशस्त्र द्वन्द्व र पार्टीभित्रका पुराना विवादहरू सुल्झाएको आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताए । उनले पार्टीका साथीहरूलाई निराश नहुन र पुनः एकपटक एकजुट भएर लाग्न अपील गरेका छन् ।
वि.सं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक सन्दर्भ जोड्दै देउवाले आफू पनि शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको स्पष्ट पारे । उनले प्रतिशोधको राजनीति छोडेर मेलमिलापको मार्ग रोज्न सबैलाई आह्वान गरेका छन् ।
आफ्नो जीवनलाई खुला किताबको रूपमा चित्रण गर्दै देउवाले भनेका छन्, ‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु ।’
प्रतिक्रिया