निर्जीवन बीमा कम्पनीको नाफा ३८ प्रतिशतले घट्यो, ओरिएन्टल इन्स्योरेन्स सबैभन्दा अगाडि हुँदा अन्यको के छ अवस्था ?

२०८३ साउन ३१ गते

निर्जीवन बीमा कम्पनीको नाफा ३८ प्रतिशतले घट्यो, ओरिएन्टल इन्स्योरेन्स सबैभन्दा अगाडि हुँदा अन्यको के छ अवस्था ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको नाफामा भारी गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूले कुल २ अर्ब ७२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले ४ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए। यस हिसाबले एक वर्षको अवधिमा निर्जीवन बीमा कम्पनीहरूको समग्र नाफा करिब ३८ प्रतिशतले घटेको देखिन्छ।

Advertisement:

Ad
Ad

समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सबाहेक अन्य सबै कम्पनीको नाफा घटेको छ। केही कम्पनीको नाफामा सामान्य गिरावट देखिए पनि अधिकांश कम्पनीको मुनाफा उल्लेख्य रूपमा घटेको छ।

ओरिएन्टल इन्स्योरेन्स सबैभन्दा अगाडि

नाफाका आधारमा ओरिएन्टल इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले समीक्षा अवधिमा ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनी ११ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको थियो।

यसैगरी राष्ट्रिय बीमा कम्पनी ३४ करोड ४४ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष कम्पनीले ४२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो। एक वर्षमा कम्पनीको नाफा १९.४६ प्रतिशतले घटेको हो।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३३ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनीको नाफा ५३ करोड २३ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको नाफा ३६.५३ प्रतिशतले घटेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३२ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष ७५ करोड ५७ लाख रुपैयाँ नाफा रहेको कम्पनीको मुनाफा यसपटक ५६.७५ प्रतिशतले घटेको हो।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३१ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको ४० करोड ३२ लाख रुपैयाँको तुलनामा कम्पनीको नाफा २२.३५ प्रतिशतले घटेको छ।

नेकोदेखि शिखरसम्म नाफामा ठूलो दबाब

नेको इन्स्योरेन्सले समीक्षा अवधिमा २८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको नाफा ५०.१९ प्रतिशतले घटेको छ।

शिखर इन्स्योरेन्सको नाफा पनि उल्लेख्य घटेको छ। कम्पनीले यस अवधिमा १३ करोड रुपैयाँ नाफा कमाएको छ, जबकि अघिल्लो वर्ष ४५ करोड २० लाख रुपैयाँ नाफा थियो। यसअनुसार नाफामा करिब ७१ प्रतिशतको गिरावट आएको छ।

सानिमा जिआइसी इन्स्योरेन्सले पनि १३ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनीको नाफा ३३ करोड ६७ लाख रुपैयाँ रहेकोमा यसपटक करिब ६१ प्रतिशतले घटेको छ।

नेपाल इन्स्योरेन्सले १२ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको ३१ करोड ६४ लाख रुपैयाँको तुलनामा कम्पनीको नाफा ५९ प्रतिशतले घटेको हो।

यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा ६ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष १७ करोड ८० लाख रुपैयाँ नाफा रहेको कम्पनीको मुनाफा ६४ प्रतिशतले घटेको छ।

एनएलजी इन्स्योरेन्सले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष १५ करोड ३३ लाख रुपैयाँ नाफा रहेको कम्पनीको नाफा यसपटक ६२ प्रतिशतले घटेको छ।

आईजीआई प्रुडेन्सियलको नाफामा सबैभन्दा ठूलो गिरावट

निर्जीवन बीमा कम्पनीमध्ये आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा सबैभन्दा ठूलो गिरावट देखिएको छ।

कम्पनीले समीक्षा अवधिमा ४० लाख ३८ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ३६ करोड ४९ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको नाफा करिब ९८ प्रतिशतले घटेको छ।

प्रभु इन्स्योरेन्सले भने बढायो नाफा

समग्र क्षेत्रको नाफा घटिरहेका बेला प्रभु इन्स्योरेन्सले भने मुनाफा बढाउन सफल भएको छ।

कम्पनीले समीक्षा अवधिमा २४ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २० करोड ९८ लाख रुपैयाँ नाफा रहेकोमा यसपटक करिब २० प्रतिशतले वृद्धि भएको हो।

नेशनल इन्स्योरेन्स घाटामै

यस अवधिमा नेशनल इन्स्योरेन्स भने घाटामा रहेको छ। कम्पनीले १३ करोड १० लाख ७५ हजार रुपैयाँ घाटा व्यहोरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको घाटा १५ करोड ७ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा घाटा केही घटे पनि कम्पनी अझै नोक्सानीमै रहेको छ।

समग्र तथ्यांकले निर्जीवन बीमा व्यवसायमा पछिल्लो एक वर्षमा नाफामाथि उल्लेख्य दबाब परेको देखाएको छ। अधिकांश कम्पनीको मुनाफा घट्दा केही कम्पनीमा भने गिरावट निकै तीव्र देखिएको छ। विशेषगरी आईजीआई प्रुडेन्सियल, शिखर, यूनाइटेड अजोड, एनएलजी र सानिमा जिआईसीको नाफामा ठूलो संकुचन आएको छ। यसको विपरीत प्रभु इन्स्योरेन्सले भने कठिन बजार परिस्थितिका बीच पनि नाफा बढाउन सफल भएको छ।