नोट छपाइको खर्च घटाउने डिजिटल रूपैयाँको योजना

२०८३ साउन २४ गते

नोट छपाइको खर्च घटाउने डिजिटल रूपैयाँको योजना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) अर्थात् डिजिटल रुपैयाँको अवधारणा अघि सारेसँगै नेपालको मौद्रिक प्रणाली डिजिटल रूपान्तरणको नयाँ चरणमा प्रवेश गर्ने संकेत देखिएको छ।

डिजिटल रुपैयाँको प्रयोग विस्तार भएमा यसको प्रत्यक्ष प्रभाव नोट छपाइ, ढुवानी, भण्डारण र व्यवस्थापनमा हुने खर्चमा पर्नेछ। राष्ट्र बैंकको अध्ययनअनुसार आगामी पाँच वर्षमा भौतिक नोटको आवश्यकता करिब ५० प्रतिशतसम्म घटाउन सकिएमा झन्डै ४ अर्ब ७३ करोड रुपैयाँ बचत हुने अनुमान गरिएको छ।

Advertisement:

Ad
Ad

 

बचतसँगै डिजिटल मुद्राले भुक्तानी प्रणालीलाई थप सुरक्षित, पारदर्शी र सहज बनाउने अपेक्षा गरिएको छ। राष्ट्र बैंकले सर्वसाधारणले प्रयोग गर्न सक्ने ‘रिटेल’ डिजिटल रुपैयाँको अवधारणा अघि सारेको छ, जसले बैंकिङ तथा डिजिटल भुक्तानी सेवाको पहुँच विस्तार गर्न सहयोग पुर्‍याउनेछ।

 

भौतिक नोटको प्रयोग घट्दा जाली नोट तथा मुद्रा व्यवस्थापनसम्बन्धी जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ। यद्यपि डिजिटल रुपैयाँ कार्यान्वयनका लागि राष्ट्र बैंक ऐनमा संशोधन, डाटा सुरक्षा र एकीकृत कानुनी संरचना निर्माणजस्ता विषय भने महत्वपूर्ण रहनेछन्।

यसरी डिजिटल रुपैयाँ केवल भौतिक नोटको विकल्प मात्र नभई मुद्रा व्यवस्थापनको लागत घटाउँदै नेपालको वित्तीय प्रणालीलाई थप आधुनिक र प्रविधिमैत्री बनाउने दीर्घकालीन पहलका रूपमा हेरिएको छ।