अन्तर्राष्ट्रिय बजारमा बढेपनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत, उपभोक्तालाई राहत दिने निगमको निर्णय

२०८२ चैत १७ गते

अन्तर्राष्ट्रिय बजारमा बढेपनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत, उपभोक्तालाई राहत दिने निगमको निर्णय

काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च दरमा वृद्धि भइरहेपनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत रहने भएको छ । उपभोक्तालाई राहत दिने उद्देश्यले नेपाल आयल निगमले पेट्रोल, डिजेलरमट्टीतेल र एल.पि. ग्यासको मूल्य यथावत राखिएको जनाएको छ।

आज इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रति लिटर रु ४१.६०, डिजेलरमट्टीतेलमा रु ९४.९३, एल.पि.ग्यासमा रु १९०.३६ र हवाइ इन्धनमा रु १२३.८० ले मूल्य वृद्धि भएर आएको थियो। यद्यपि केही दिनअघि मात्रै न्यूनतम मूल्य समायोजन गरिसकिएको सन्दर्भमा उपभोक्तामाथि थप आर्थिक भार नपरोस् भन्ने हेतुले प्रमुख पेट्रोलियम पदार्थहरूको मूल्य स्थिर राखिएको निगमका प्रबन्ध निर्देशक चण्डिका भट्टले जनाएका छन् ।

Advertisement:

Ad

यस निर्णयले निगमलाई उच्च घाटा व्यहोर्नु पर्ने भए पनि उपभोक्ता हितलाई प्राथमिकतामा राखिएको जनाइएको छ। यद्यपि हवाइ इन्धनको हकमा भने 'नो प्रफिट, नो लस 'को आधारमा मूल्य समायोजन गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि जारी रहँदा निगमको वित्तीय अवस्था चुनौतीपूर्ण बन्दै गएको छ, जसले आपूर्ति प्रणालीमा समेत प्रभाव पार्न सक्ने संकेत देखिएको छ। यस्तो परिस्थितिमा सबै उपभोक्तालाई पेट्रोलियम पदार्थ र एल.पि. ग्यासको मितव्ययी प्रयोग गर्न निगमले आग्रह गरेको छ ।

निगमले कठिन अवस्थामा पनि आपूर्ति प्रणालीलाई सहज राख्ने प्रतिबद्धता जनाउँदै उपभोक्ताबाट सहयोगको अपेक्षा गरेको छ।