बाढीपहिरोको विपत्तिमा नेपालप्रति पाकिस्तानको ऐक्यबद्धता, राष्ट्रपति प्रतिनिधि पुगे दूतावास

२०८३ भदौ १५ गते

बाढीपहिरोको विपत्तिमा नेपालप्रति पाकिस्तानको ऐक्यबद्धता, राष्ट्रपति प्रतिनिधि पुगे दूतावास

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीको निर्देशनमा राष्ट्रपति कार्यालयका प्रतिनिधिहरूले नेपालमा गएको विनाशकारी बाढीपहिरोप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन्।

 

Advertisement:

Ad
Ad

पाकिस्तानका पूर्वसिनेट अध्यक्ष सैयद नय्यर बोखारी र राष्ट्रपतिका प्रवक्ता मुर्तजा सोलांगीले इस्लामाबादस्थित नेपाली दूतावास पुगेर बाढीपहिरोमा परी भएको जनधनको क्षतिप्रति पाकिस्तानका राष्ट्रपति तथा पाकिस्तानी जनताको तर्फबाट गहिरो समवेदना व्यक्त गरेका हुन्।

 

गत साता चीन–नेपाल सीमाक्षेत्रमा हिमताल फुट्नु तथा पहिरोपछि आएको भीषण बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो। उक्त प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै पाकिस्तानी प्रतिनिधिमण्डलले पीडित परिवार तथा नेपाली जनताप्रति सहानुभूति प्रकट गरेको हो।

 

इस्लामाबादस्थित नेपाली राजदूत रिता धितालले पाकिस्तानी प्रतिनिधिहरूलाई स्वागत गर्दै विपत्तिको कठिन समयमा नेपालप्रति पाकिस्तान सरकार र जनताले देखाएको सद्भाव, समर्थन र ऐक्यबद्धताप्रति आभार व्यक्त गरिन्।

 

भेटका क्रममा बोखारी र सोलांगीले नेपाली दूतावासको आगन्तुक पुस्तिकामा समेत समवेदना तथा ऐक्यबद्धताको सन्देश लेखेका थिए।

 

नेपालमा प्राकृतिक विपत्तिका कारण ठूलो क्षति भइरहेका बेला छिमेकी तथा मित्रराष्ट्रहरूबाट प्राप्त भइरहेको सहयोग र ऐक्यबद्धताले पीडित नेपालीप्रति अन्तर्राष्ट्रिय समुदायको साथ र समर्थनलाई थप प्रस्ट पारेको छ।