बालुवाटारमा जेनजी दलहरुसँगको छलफल चर्काचर्कीमा परिणत भएपछि यसरी दिइन् प्रधानमन्त्रीले जवाफ

२०८२ कात्तिक १३ गते

बालुवाटारमा जेनजी दलहरुसँगको छलफल चर्काचर्कीमा परिणत भएपछि यसरी दिइन् प्रधानमन्त्रीले जवाफ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार राति भएको दलहरु र जेनजीहरुसँगको त्रिपक्षीय वार्ता सुनिसकेपछि आफू रहरले प्रधानमन्त्री नबनेको स्पष्ट पारेकी छिन् । जेनजी र कांग्रेस माओवादी रास्वपा लगायतका दलहरुले सरकारलाई चुनावमा सघाउने प्रतिवद्धता व्यक्त गरिरहँदा एमाले भने नोकझांकमा उत्रिएको थियो ।

 

Advertisement:

Ad
Ad

एमाले नेता महेश बर्तौलाले कार्कीलाई न्यायाधिश भएको व्यक्ति प्रधानमन्त्री बन्न मिल्ने कि नमिल्ने?संसद जसरी पनि पुनस्र्थापना गर्ने जस्ता अडान राखिरहेपछि प्रधानमन्त्री कार्की कड्किएकी थिइन् ।

 

बैठकको अन्तिममा प्रधानमन्त्री कार्कीले यसरी आफ्ना कुरा राखिन्, म पदको लोभले होइन, परिस्थितिको बाध्यताले प्रधानमन्त्री बनेकी हुँ। “म इच्छाले होइन, बाध्यताले प्रधानमन्त्री बनेकी हुँ। देश संकटमा परिरहेको बेला मैले ‘म केही गर्दिन’ भनेर बस्न सक्दिनँ। जेनजीहरूले मेरो घरमै आएर देशलाई यो अवस्थामा तपाईंको नेतृत्व चाहिएको छ भनेपछि म प्रधानमन्त्री बनेकी हुँ।”

 

सरकारको कामप्रति भइरहेका आलोचनाबारे उनले असन्तुष्टि जनाइन्। उनका अनुसार, “३५ वर्षसम्म जसले पनि गर्न नसकेको काम हामीले एक महिनामा पूरा कसरी गर्न सक्छौंरु आलोचना गर्न सजिलो छ, तर काम गर्न गाह्रो छ।”

त्यस्तै, सरकारले विदेशी शक्ति वा दूतावाससँग अस्वाभाविक सम्बन्ध राखेको भन्ने आरोपबारे उनले तीव्र प्रतिक्रिया दिइन्। “विदेशीसँग सम्बन्ध राखेको भनिन्छ, तर मैले अहिलेसम्म कुनै पनि राजदूतसँग भेट गरेकी छैन। प्रधानमन्त्री कार्यालयका जसलाई सोधे पनि यसको पुष्टि हुनेछ,” भन्दै उनले आफ्ना आलोचकहरूलाई जवाफ दिइन्।

 

उनले आगामी फागुन २१ गते निर्धारित निर्वाचन गराउने दृढ प्रतिबद्धता पनि जनाइन्। “म लडाकु हुँ, मेरो हजुरआमा पनि लडाकु थिइन्। म पछि हट्दिनँ, चुनाव अवश्य गराउँछु,” भन्दै उनले आफ्नो अडान दोहोर्याइन्।

 

अन्त्यमा, प्रधानमन्त्री कार्कीले सर्वपक्षीय संवादलाई निरन्तरता दिने संकेत दिइन्। उनले भनिन्, “आजको छलफल सुरुवात मात्रै हो। यस्तो छलफल नियमित रूपमा गरौं। सबै दलका नेताहरूलाई धन्यवाद — तपाईंहरूको सहभागिताले नै लोकतन्त्र बलियो बन्छ।”