२०८२ जेठ १७ गते
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘हाफ म्याराथुन’को शुभारम्भपछि उक्त गृहका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग (बटम लाइन) राखेर सदन अवरोध गर्न नहुने स्पष्ट पारे।
“म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहिँ चाहिन्छ । गृह मन्त्रालय मातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन ।” प्रधानमन्त्री ओलीले भने, “पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उनीमाथि गृह मातहतको सिआइबीले छानबिन गरिरहेको थियो । अहिले त्यस्तो अवस्था होइन त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो । यसरी विरोध गरिएको छ कि मानौँ ३५ मिलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन ।उहाँले बच्चाहरूले झोला वा खेलौना हात्ती किनिदे भन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदेऊ भन्दा हाल्न नसकिए जस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताए ।
कुनै पार्टीभित्रका समस्या वैयक्तिक आकाङ्क्षा–धुर्वीकरणहरु हुन सक्ने र त्यसका आधारमा विरोध आउन सक्ने भए पनि घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई डिस्टर्ब हुने गरी नगर्न प्रधानमन्त्री ओलीको आग्रह थियो ।
प्रतिक्रिया