मेरै गाला मेरै चड्कन,मलाई लाज लाग्यो : रमेश प्रसाइँ

२०८३ साउन २२ गते

मेरै गाला मेरै चड्कन,मलाई लाज लाग्यो : रमेश प्रसाइँ

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले मुलुकमा ग्यास अभावलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारमा रहेकाहरूले व्यवहारबाट नयाँ भएको अनुभूति जनतालाई दिलाउनुपर्ने पनि उनको भनाइ थियो । 

 

Advertisement:

Ad
Ad

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद प्रसाईंले सरकारका गतिविधिले के बोल्ने के नबोल्ने भन्ने अन्योलमा पर्ने गरेको बताए । 'म कहिलेकाहीँ कन्फ्युज हुन्छु, कसलाई के भनूँ !मेरै गाला, मेरै चड्कन,' प्रसाईंले भने, 'मैले चुनावताका गरेका भाषणहरू सम्झिँदा, जहाँ हामी सरकारी कार्यालयमा 'नो लाइन' रास्वपाको पालामा वन्ली अनलाइन' भनेर आफैले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ ।'

 

सरकारलाई प्रसाईंले प्रश्न गरेका छन् । उनले सोधेको पहिलो प्रश्न हो, 'यो ग्यासको अभाव देशैभरि छ, मेरो प्रधानमन्त्री र मन्त्रीको क्वाटरमा ग्यासको अभाव छ कि छैन ?'

सरकारले ग्यास पर्याप्त भएको भनिरहेको बेला सांसद प्रसाईंले सरकारलाई जनताकहाँ किन ग्यास पुगेन भनेर प्रश्न गरेका छन् । 'यदि कृत्रिम अभाव सिर्जना भएको हो भने सरकारले भनेजस्तै ग्यास ह्वारह्वार्ती आएर कालोबजारी भएको हो भने, ती कालोबजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन के ले रोकेको छ दुई तिहाइको सरकारलाई ?'उनले सोधे । 


जनतालाई व्यवहारमा नयाँ भएको अनुभव दिन सांसद प्रसाईंले सरकारसँग आग्रह गरेका छन् । उनले भने, 'जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला, हेन्डसम नयाँ अनुहार खोजेको होइन, नयाँ चरित्र खोजेको हो, जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ ।'