२०८३ भदौ १० गते
काठमाडौं । रसुवामा आएको भीषण बाढीपहिरोका कारण बैंकिङ क्षेत्रसमेत प्रभावित भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जिल्लामा रहेका बैंकका शाखा तथा त्यहाँ राखिएको नगदसमेत बाढीमा परेको प्रारम्भिक सूचना प्राप्त भएको बताएका छन् ।
अध्यक्ष कोइरालाका अनुसार बाढीपहिरोबाट बैंकिङ क्षेत्रमा भएको क्षतिको वास्तविक विवरण भने अहिले नै यकिन भइसकेको छैन । प्रभावित क्षेत्रमा पुगेर स्थलगत रूपमा विवरण संकलन गर्नसमेत कठिनाइ भइरहेकाले क्षतिको पूर्ण विवरण आउन समय लाग्ने उनले बताए ।
उनका अनुसार रसुवाको टिमुरेमा मात्रै वाणिज्य बैंकका ९ वटा शाखा सञ्चालनमा थिए । टिमुरेभन्दा तल्लो क्षेत्रमा समेत विभिन्न बैंकका शाखा रहेकामा तीमध्ये अधिकांश बाढीले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
बाढीपहिरोपछि कतिपय बैंकका कर्मचारी अझै सम्पर्कविहीन रहेको र केही कर्मचारीसँग भने सम्पर्क स्थापित हुन थालेको अध्यक्ष कोइरालाले बताए । ‘मानवीय क्षति नभए हुन्थ्यो भन्ने लागेको छ । कतिपय कर्मचारी साथीहरू सम्पर्कमा आउँदै हुनुहुन्छ भने केही सम्पर्कमा आउने प्रयासमा हुनुहुन्छ,’ उनले भने ।
प्रभावित क्षेत्रमा तत्काल पुग्न सक्ने अवस्था नरहेकाले बैंकका शाखा कार्यालयमा रहेको नगद तथा अन्य सम्पत्तिको क्षतिबारे समेत यकिन विवरण आउन सकेको छैन । प्रारम्भिक सूचनाअनुसार केही शाखामा रहेको नगदसमेत बाढीले बगाएको हुन सक्ने देखिएको अध्यक्ष कोइरालाले बताए ।
बैंकिङ क्षेत्रतर्फ भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको भन्दै उनले बुधबार साँझसम्म प्रारम्भिक तथ्यांक सार्वजनिक हुन सक्ने जानकारी दिए ।
रसुवामा बाढीपहिरोका कारण बैंकिङ पूर्वाधार प्रभावित भएपछि प्रभावित क्षेत्रमा बैंकिङ सेवा सञ्चालन र पुनःस्थापनामा समेत चुनौती थपिएको छ ।
प्रतिक्रिया