२०८३ भदौ ०३ गते
काठमाडौं । निजी क्षेत्रबाट निर्माण हुन लागेको नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना ‘तिला–१’ को वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ । कालिकोटस्थित तिला नदीमा निर्माण हुने ४४० मेगावाट क्षमताको आयोजनाका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने सम्झौता गरेका हुन् ।
ऊर्जा उद्यमी तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० की उपाध्यक्ष सुसन कर्माचार्यको नेतृत्वमा अघि बढिरहेको आयोजना एससी पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको हो ।
आयोजनाको वित्तीय व्यवस्थापन एनएमबी बैंकको नेतृत्वमा भएको हो । ऋण लगानी गर्ने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई, प्रभु, हिमालयन, नबिल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआईसी एसिया, कृषि विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र आईसीएफसी फाइनान्स रहेका छन् ।
एनएमबी बैंकको सबैभन्दा ठूलो ऋण लगानी
आयोजनामा एनएमबी बैंकले १० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ । त्यस्तै ग्लोबल आईएमई, प्रभु र हिमालयन बैंकले समान ७-७ अर्ब रुपैयाँ लगानी गर्नेछन् ।
नबिल बैंकले ३ अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २ अर्ब तथा कृषि विकास बैंक र मुक्तिनाथ विकास बैंकले १ अर्ब ५०-५० करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन् ।
त्यसैगरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब ५० करोड, सांग्रिला डेभलपमेन्ट बैंकले १ अर्ब २५ करोड, ज्योति विकास बैंक र एनआईसी एसिया बैंकले १र१ अर्ब तथा आईसीएफसी फाइनान्सले ८० करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएका छन् ।
अहिले २९८.७५ मेगावाट मात्रै निर्माण हुने
आयोजनाको डिजाइन क्षमता ४४० मेगावाट भए पनि नेपाल विद्युत् प्राधिकरणसँग हाल २९८.७५ मेगावाटका लागि मात्रै विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । यही आधारमा पहिलो चरणमा २९८.७५ मेगावाट क्षमताको आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गरिएको हो ।
२९८.७५ मेगावाट निर्माण गर्न करिब ५९ अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । आयोजनाको इलेक्ट्रोमेकानिकल संरचनाबाहेकका अन्य प्रमुख पूर्वाधार भने भविष्यमा ४४० मेगावाट क्षमताकै आयोजना सञ्चालन गर्न मिल्ने गरी निर्माण गरिनेछ ।
पूर्ण क्षमतामा ४४० मेगावाट आयोजना निर्माण गर्दा कुल लागत करिब ७० अर्ब रुपैयाँ पुग्ने अनुमान छ । आयोजनामा प्रवर्द्धकहरूले १४ अर्ब रुपैयाँभन्दा बढी स्वपुँजी (इक्विटी) लगानी गर्नेछन् भने बाँकी रकम बैंक तथा वित्तीय संस्थाबाट ऋणमार्फत जुटाइनेछ ।
वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै तिला–१ जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया थप तीव्र हुने अपेक्षा गरिएको छ । आयोजना पूरा भएपछि निजी क्षेत्रबाट निर्माण हुने ठूला जलविद्युत् आयोजनामध्ये तिला–१ महत्वपूर्ण आयोजनाका रूपमा स्थापित हुने देखिएको छ ।
प्रतिक्रिया