ट्रम्पलाई जथाभावी गाली गरेका मस्कले मागे माफी, हटाए सामाजिक सञ्जालका पोष्ट

२०८२ जेठ २८ गते

ट्रम्पलाई जथाभावी गाली गरेका मस्कले मागे माफी, हटाए सामाजिक सञ्जालका पोष्ट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सबैभन्दा निकट मानिएका धनाढ्य एलन मस्कबीच शुरु वाकयुद्ध एकाएक सेलाउन पुगेको छ । यी दुई बीचको सार्वजनिक झगडाले गत केही हप्ता सामाजिक सञ्जाल र सञ्चार माध्यम समेत तातेका थिए । गत महिना सरकारी दक्षता विभागको प्रमुखको भूमिकाबाट अलग भएका मस्कले निकै तल्लो स्तरमा झरेर राष्ट्रपति ट्रम्पमाथि अनेकन् आरोप लगाएका थिए । तर एकाएक बुधबार मस्कले आफूले गल्ती गरेको भन्दै पछुतो मान्दै सामाजिक सञ्जाल एक्स्मा लेख्न पुगे ।

Advertisement:

Ad
Ad

'गत हप्ता राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा मेरा केही पोस्टहरूप्रति मलाई पछुतो छ,'मस्कले बुधबार बिहान आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स्को एक पोस्टमा भनेका छन् ।मस्कले ट्रम्पमाथि फाइनान्सर र दोषी ठहरिएका यौन अपराधीसँग संलग्नता लुकाउन जेफ्री एपस्टाइनको बारेमा फाइलहरू जारी गर्न अस्वीकार गरेको अप्रमाणित दाबी गर्दै सञ्जालमा पोष्ट्याएका थिए ।यद्यपि अहिले ती पोष्टहरु उनले एक्स्बाट हटाएका छन् ।

 

हालै सम्पन्न अमेरिकी चुनावताका ट्रम्पको ह्वाइट हाउस दौडको समर्थनमा करोडौं डलर खर्च गरेका मस्कले आफू बिना राष्ट्रपति निर्वाचित हुन सम्भव नरहेको बताउँदै उनको महाभियोगको समेत माग गर्दै आएका थिए ।मस्कले लगातारको आक्रमणपछि राष्ट्रपति ट्रम्पले एलन मस्कका कम्पनीहरूलाई दिइएको सरकारी सम्झौता र अनुदान रद्द गर्ने संकेत गरेका थिए । जसमा विद्युतीय कार निर्माता टेस्ला र रकेट कम्पनी स्पेसएक्स समावेश छन्।शनिबार एनबीसी न्यूजसँगको एक अन्तर्वार्तामा, ट्रम्पले मस्कसँगको आफ्नो सम्बन्ध लगभग समाप्त भएको र सम्वन्ध सुधार्न चासो नदिने प्रतिक्रिया दिएका थिए ।

 

ट्रम्पको कडा प्रतिक्रिया सुनेपछि हुनसक्छ मस्क आफूले गल्ती गरेको बताउँदै सार्वजनिक रुपमा माफी माग्न तयार भए ।मस्कको ट्रम्पप्रतिको नरम भावसँगै यी दुईबीचको कटुता समापत हुने अनुमान गरिएको छ ।