२०८२ भदौ १६ गते
अफगानिस्तान । अफगानिस्तानको पूर्वी भागमा आइतबार राति ६.० रेक्टर स्केलको भूकम्प गएपछि कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूले मृतक संख्या अझै बढ्न सक्ने बताएका छन्।
भूकम्प जलालाबाद नजिकै आएको थियो। करिब दुई लाख जनसंख्या रहेको यो शहर राजधानी काबुलबाट १०० माइलभन्दा कम दुरीमा छ। कम्पन र पराकम्पन काबुलसम्मै महसुस गरिएको थियो।
नंगरहार प्रान्तीय अधिकारीहरूका अनुसार अधिकांश मृत्यु छिमेकी कुनार प्रान्तमा भएका हुन् भने नंगरहारमा ९ जनाको मृत्यु पुष्टि भएको छ। तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत केही पूर्वी प्रान्तहरूमा मानवीय तथा भौतिक क्षति भएको जनाएका छन्।
अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) ले भूकम्पबाट ठूलो मानवीय क्षति र संरचनात्मक ध्वंस हुने सम्भावना देखाएको छ। प्रभावित क्षेत्रमा प्रायः कमजोर संरचनामा मानिस बस्ने भएकाले जोखिम उच्च रहेको छ।
अफगानिस्तानमा भूकम्प बारम्बार हुने गरेको छ। सन् २०२२ मा दक्षिण–पूर्वी क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्पमा कम्तीमा १,००० जनाले ज्यान गुमाएका थिए। दशकौँको युद्ध, आर्थिक संकट र लाखौँ शरणार्थीको जबरजस्ती फिर्तीले ग्रस्त देशमा यो नयाँ विपत्ति थपिएको हो।
प्रतिक्रिया