चन्द्रकुवेर खापुङ नेपाल प्रहरीका ३२औं महानिरीक्षकमा नियुक्त

२०८२ भदौ १३ गते

चन्द्रकुवेर खापुङ नेपाल प्रहरीका ३२औं महानिरीक्षकमा नियुक्त

काठमाडौं ।  सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले १९ भदौदेखि लागू हुने गरी उनलाई नियुक्त गर्ने निर्णय गरेको हो।

हालका आईजीपी दिपक थापा १८ भदौ राति १२ बजेदेखि अवकाश पाउने भएकाले त्यसअघि नै नयाँ आईजीपीको टुंगो लगाइएको हो। प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकाले मन्त्रिपरिषद्ले शुक्रबारकै बैठकमा निर्णय गरेको हो।

Advertisement:

Ad
Ad

खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख हुन्। उनी दिपक थापासँगै इन्स्पेक्टरमा भर्ना भएका थिए। ब्याचकै अन्य प्रतिस्पर्धीहरू उमेर हद वा सेवाअवधिका कारण अवकाशमा जानु परेपछि खापुङ आईजीपीका एकल उम्मेदवार बनेका हुन्।

नयाँ प्रहरी ऐन जारी भएमा उनको सेवाअवधि थप ६ महिना लम्बिन सक्नेछ, अन्यथा हालको प्रावधानअनुसार उनी ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिकबाट अवकाश हुनेछन्।