नेपालमै बसेर अमेरिकाको वेष्टक्लिफ विश्वविद्यालयको डिग्री, प्रेसिडेन्सियल बिजनेस ग्रयाजुयट स्कुलले पढाई मात्र होइन उद्यमशीलतामा पनि सघाउँछ

२०८२ साउन ०५ गते

नेपालमै बसेर अमेरिकाको वेष्टक्लिफ विश्वविद्यालयको डिग्री, प्रेसिडेन्सियल बिजनेस ग्रयाजुयट स्कुलले पढाई मात्र होइन उद्यमशीलतामा पनि सघाउँछ

नेपालमा उच्च शिक्षाका शैक्षिक संस्थाहरू रित्तिदै जान थालेका छन् । राम्रो कमाई र प्रशस्त अवसरका कारण विद्यार्थीहरूमा विदेशको मोह गहिरिएको छ । त्यसको असर नेपालका शिक्षण संस्थाहरूले भोगिरहेका छन् । नेपालमै करोडौँ लगानी गरेर खुलेका शिक्षण संस्थाहरू संकटमा पर्ने अवस्था सिर्जना भइरहेको छ । नेपाली विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने उद्देश्यले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमै खुलेका शैक्षिक संस्थाहरू विद्यार्थीलाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । त्यसैमध्येको एक हो– प्रेसिडेन्सियल बिजनेस ग्रयाजुयट स्कुल । अमेरिकाको वेष्टक्लिफ युनिभर्सिटीको सम्बन्धन प्राप्त यो कलेज काठमाडौंमा सञ्चालित छ । कलेजकी प्रिन्सिपल कल्पना गुरुङसँग वाणिज्यपोष्ट इकोनोमिक म्यागेजिनका लागि गरिएको कुराकानीको सम्पादित अंश :

 

Advertisement:

Ad
Ad

अमेरिकाको वेष्टक्लिफ युनिभर्सिटीबाट सम्बन्धन लिएर चलेको प्रेसिडेन्सियल बिजनेस स्कूलको अध्यापन प्रणाली कस्तो छ ?

अहिले नेपालको मुख्य समस्या विद्यार्थीहरू विदेशिनु हो । १२ कक्षा पास गर्ने बित्तिकै विदेश गइहाल्ने प्रवृत्ति छ । स्वदेशमै बसेर विदेशी विश्वविद्यालयको कोर्ष पढ्न पाउने र प्रयोगात्मक, व्यवहारिक शैक्षिक ज्ञान पाउने भएकाले पनि अहिले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएका कलेजहरूमा विद्यार्थीको आकर्षण बढेको हो । हाम्रो कलेजको कुरा गर्दा हामीसँग ६ वटा कोर्षहरु छन् । बीबीए, एमबीए, बीएससी आइटी, एमएससी आईटी, एमबीए डेटा एनालाइटिक्स् र एमबीए इन इन्फर्मेसन टेक्नोलोजी विषय हामीले अध्यापन गराइरहेका छौँ । त्रिभुवन विश्वविद्यालयको कोर्षको पाठ्यक्रम पाँच वर्षसम्म पनि अपडेट हुँदैन तर हाम्रो कोर्ष एकदमै अपडेटेड हुन्छ । यहाँ घोकेर पढ्ने प्रणाली होइन ‘कन्टिन्युअस एसेसमेन्ट सिस्टम’ बाट पढाउँछौँ । पढाइलाई रोजगारीसँग जोड्न हामीले विभिन्न उद्योगहरूसँग समन्वय गरेर विद्यार्थीलाई देशभित्रकै श्रम बजारमा टिकाउन प्रयास गरिहेका छौँ । आईटीका विद्यार्थीहरुलाई आविस्कारमा संलग्न गराइरहेका छौैँ ।

कलेजले विद्यार्थीहरूलाई उद्यमशीलतामा प्रोत्साहन मिल्ने गरी अध्यापनमा जोड दिएको छ कि छैन ? विद्यार्थीहरू अध्ययन सकेर उद्यमशील बनेका उदाहरण छन् कि छैनन् ?

हामीले विद्यार्थीलाई उद्यमशीलतामा जोडेको प्रशस्तै उदाहरणहरु छन् । यहाँबाट एमबीए गरेर निस्किएका विद्यार्थीहरु कतिपयले आफ्नो स्कुल चलाइरहेका छन् । कतिपय विद्यार्थीहरु आफ्नो गृहजिल्ला फर्केर कृषि उद्यम तथा रोजगारी दिने गरी आयआर्जनमा जोडिएका छन् । हामीले पढाउँदा नै विद्यार्थीलाई श्रमबजारमा सेटल हुने ढंगले पढाउँछौँ । जस्तो हामीसँग स्किल ल्याब नै छ । त्यसले विद्यार्थीलाई रोजगारदाता कम्पनीहरुसँग जोड्न सहज हुने गरी कर्पोरेट तालिमहरु प्रदान गर्ने गछौँ । 

 

विदेशी सम्बन्धन लिएर कलेज चलाउँदा सरकारी नीतिको प्रभाव कस्तो पर्ने रहेछ ?

विदेशी सम्बन्धन लिएका कलेज भन्ने ट्याग लगाएर सरकारले हामीमाथि केही कुराहरुमा विभेद गरेको छ । कुनै विद्यार्थीको विदेश पढ्न जाने भिषा लाग्यो भने विदेशी मुद्रा सटही सुविधामा शुल्क २ प्रतिशत मात्र हो तिर्नुपर्ने । तर विदेशी सम्बन्धन लिएका कलेजका विद्यार्थीलाई सटही सुविधामा पाँच प्रतिशत तिर्नुपर्ने छ । अझ पहिला त १५ प्रतिशत थियो । हामीले देशमै यत्रो रोजगारी सिर्जना गरेर सरकारलाई कर तिरिरहेका छौँ किन यस्तो विभेद भनेर कुरा उठाइरहेकाले घटाएर पाँच प्रतिशतमा झारिएको हो । हामीले शिक्षा मन्त्रालयलाई एक विद्यार्थी बराबर वार्षिक एक हजार पाँच सय रूपैयाँ शुल्क तिर्दै आएका छौँ । किन तिर्नु परेको हो थाहा छैन । यसरी जथाभावी शुल्क लिनु उचित होइन ।

 

तपाईँहरूले विद्यार्थीसँग लिने शुल्क पनि त बढी नै छ, त्यस हिसाबले मन्त्रालयले तपाईँहरूमाथि बढी चार्ज गरेको हुन सक्छ नि । विदेशी सम्बन्धका कलेजहरुले छात्रवृत्तिमा पनि कन्जुस्याई गर्छन् भन्ने टिप्पणी सुनिन्छ, के भन्नु हुन्छ ?

शिक्षा मन्त्रालयका अधिकारीहरुले बेलाबेला आएर दश प्रतिशत छात्रवृत्ति दिनुपर्छ भनिरहनु हुन्छ । हामी दिन तयार छौँ । तर कुन ढङ्गले दिने त्यसको मापदण्ड हुन प¥यो नि । मापदण्ड बनाइ दिनु प¥यो । पोखरा विश्वविद्यालयले दिने छावृत्तिमा जाँच लिएर छुट्याइन्छ । त्यसरी छुट्याइएकाहरु मध्येबाट कुन प्रोग्राममा जाने भन्ने तय गरेर कलेज छान्न लगाइन्छ । हाम्रो सन्दर्भमा पनि शिक्षा मन्त्रालयले नै जाँच लिइ दिए हामी स्कलरसिप दिन तयार छौँ । छात्रवृत्ति भनेको जसलाई अत्यावश्यक छ उसैले पाओस् भन्ने हो । हिसाब नै गर्ने हो भने पनि हामीले विद्यार्थीलाई विभिन्न चरणमा दिएको छात्रवृत्तिको रकम मन्त्रालयले भनेको दश प्रशिशतभन्दा धेरै हुन आउँछ । तथापि, उहाँहरुले नामै तोकेर दिनुपर्छ भन्दै गर्दा हाम्रो अडान भनेको शिक्षा मन्त्रालयले नै निश्पक्ष रूपले विद्यार्थीको जाँच लिएर छात्रवृत्ति दिने वातावरण तयार गरोस् भन्ने हो । हामी तयार छौँ । पहुँचको भरमा भन्दापनि जसको क्षमता छ र आवश्यकता पनि छ उनीहरूले पाउन् भन्ने हो ।  

 

विदेशी सम्बन्धनका कलेजमा अध्ययन गरेका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिँदा विभिन्न समस्या भोग्नु परेको भनेर प्रश्न उठ्ने गरेको छ नि ?

त्रिभुवन विश्वविद्यालयमा समकक्षताको कुरा उठिराख्छ । त्रिवि एउटा विश्वविद्यालय हो भने हामी अर्को विश्वविद्यालयबाट सम्बन्धन लिएर आएका छौँ । एउटा विश्वविद्यालयले अर्को विश्वविद्यालयलाई कसरी समकक्षता दिन सक्छ ? विश्वविद्यालय अनुदान आयोगले हाम्रो कोर्ष, क्रेडिट आवर आदि हेरेर दिनुपर्छ । हाम्रो कलेजमा स्नातक चार वर्षको र स्नातकोत्तर दुई वर्षको छ । तर यहाँ अन्य विश्वविद्यालायबाट सम्बन्धन लिएका अरु केही कलेजहरुले स्नातक तीन वर्ष र स्नातकोत्तर एक वर्ष मात्रै अध्यापन गराएका पनि छन् । त्रिविले हामी र अरु शैक्षिक संस्थालाई एउटै ढंगले समकक्षता दिन्छ ।  यसबाट त हामीले गरेको मेहनतको अवमूल्यन भयो । मेहनतको छुट्टै ढंगले पहिचान गरेर सम्बोधन होेस् भन्ने हाम्रो चाहना हो ।

 

प्रेसिडेन्सियल बिजनेस स्कूलमा पढिसकेका विद्यार्थीले अमेरिका नै गएर वेष्टक्लिफमा पढ्न चाहेको अवस्थामा कलेजले कसरी सहजिकरण गरिदिन्छ ?

यहाँ अध्ययन गरेका चारजना विद्यार्थी अमेरिकामा वेष्टक्लिफमा डक्टर इन बिजनेस एडमिनिस्ट्रेशन (डीबीए) अध्ययन गरिरहेका छन् । यो भनेको पीएचडी प्रोग्राम हो । त्यस्तै, यहाँ अण्डरग्य्राजुएट गरेर क्रेडिट ट्रान्सफर गरेर उता जानेहरु धेरै छन् । हामीले यहाँबाट डीबीए कोर्ष गर्न जानेहरुलाई फ्ल्याटमा छात्रवृत्ति दिलाउने गरी काम गरेका छौँ । फाइनासिन्सयल डकुमेन्ट नमिलेर जान नपाउने छुट्टै कुरा हो, होइन भने यो कलेज पढेकाहरुलाई भिषामा कुनै समस्या रहँदैन । यद्यपि, हामी अध्यापन गराउने कलेज हौँ कन्सल्टेन्सी होइनौँ । यो कलेज पढ्ने बित्तिकै अमेरिका जान पाइहालिन्छ भन्ने होइन ।

 

नेपालमा शिक्षा महङ्गो भएका कारण राम्रो विषय पढाउन नसकिने भयो भन्ने आममानिसको गुनासो छ । उच्च शिक्षा झन् महङ्गो हुँदै गएको छ । एकातिर विद्यार्थी विदेशिने, अर्कोतिर शिक्षा झन्झन् महङ्गो हुने किन यस्तो भएको होला ?

यो कुरा हामीले पनि महशुस गरेका छौँ । तर यहाँ पढाइको गुणस्तरकै कुरा आउँछ । विद्यार्थीहरुलाई सरकारी कलेज जाने कि निजीमा जाने छनौट गर्ने प्रशस्त अवसर छ । तर पनि विद्यार्थीहरु निजीतिरै तानिइरहेका छन् । यसो हुनुमा निजी क्षेत्रका शैक्षिक संस्थाले दिने गुणस्तरीय शिक्षा नै हो । निजी क्षेत्र सवल र सक्षम भएको चाहिँ सम्झौता नगरी ठूलो मात्राको लगानी खन्याएकाले हो । लगानी गरेपछि त्यसअनुसार विद्यार्थीबाट शुल्क उठाउन हामी पनि बाध्य छौँ । हाम्रो कलेजकै कुरा गर्दा कोभिडको समयमा यहाँका स्कुल कलेजहरु बन्द हुँदा हाम्रो कलेजको पढाइ कहीँ कतै रोकिएन । कोर्ष सामान्य ढंगले सुचारू थियो । परीक्षा भइरहेको थियो । विद्यार्थी अपग्रेड भइरहेका थिए । यसमा सरकारको के भूमिका रहन्छ भन्ने कुरा पनि हो । सामुदायिक विद्यालय र सरकारी विश्वविद्यालयको गुणस्तर बढाउनतिर सरकारले ध्यान दिने हो भने हामी जस्ता निजी शैक्षिक संस्थामा आउनै पर्दैन थियो ।

 

अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई के भन्नुहुन्छ ?

विदेशमा गएर पढ्नुलाई नराम्रो मान्दिनँ, तर त्यहाँ गएर सिकेर ज्ञान लिएर देशमै केही गर्छु भनेर फर्किन सल्लाह दिन्छु । म स्वयं विदेशमा पढेर स्वदेश फर्किएँँ । अण्डरग्य्राजुयटमा विदेश पढ्न विद्यार्थी जानु भनेको एकदम अप्ठ्यारो निम्त्याउनु हो । किनकी ती कलिला केटाकेटीहरु त्यहाँ गएर काम गरेर पढ्नै सक्दैनन् । कम्तिमा पनि ग्रयाजुयट गरी मास्टर्स कोर्षका लागि जाने हो भने सही निर्णय हुन सक्छ । सिकेर आउनुस् देशलाई नबिर्सनुस्, तपाइँ हामी मिलेरै देश बनाउने हो ।