२०८२ भदौ १५ गते
अङ्कारा। टर्कीले इजरायलसँग सबै आर्थिक तथा व्यापारिक सम्बन्ध तोड्ने घोषणा गरेको छ। यस निर्णयअनुसार टर्कीका बन्दरगाहहरू इस्रायली जहाजका लागि बन्द हुनेछन् भने टर्कीका जहाजहरूलाई इजरायली बन्दरगाह प्रवेशमा रोक लगाइनेछ। त्यस्तै, इस्रायली विमानलाई टर्कीको आकाशीय मार्ग प्रयोग गर्न नदिने जनाइएको छ।
तर केही घण्टापछि टर्कीका कूटनीतिक स्रोतहरूले यो निषेध केवल सरकारी विमान र इजरायललाई हतियार बोकेर लैजाने विमानमा मात्र लागु हुने स्पष्ट पारेका छन् । साधारण नागरिक उडानबारे भने अझै औपचारिक घोषणा गरिएको छैन।
यो कदम दुवै देशबीचको तनावपूर्ण सम्बन्धमा नयाँ उचाइ हो, तर अघिल्ला अनुभवले देखाएझैँ टर्कीका घोषणा प्रायः कडा सुनिए पनि व्यवहारिक असर सीमित हुने गरेको छ।
२०२३ मा दुवैतर्फको व्यापार करिब ७ अर्ब डलर थियो । जसअन्तर्गत इजरायलको कुल आयातको करिब ६ प्रतिशत टर्कीबाट आयात हुने गरेको थियो भने इजरायलले टर्कीलाई १.५ देखि १.६ अर्ब डलर बराबरको सामान निर्यात गरेको थियो।
प्रतिक्रिया