'अबको १० दिनमा किसानहरुको दुधको भुक्तानी हुन्छ'

२०८२ असार २६ गते

'अबको १० दिनमा किसानहरुको दुधको भुक्तानी हुन्छ'

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले लगभग ९० करोड रुपैंयाँ दुग्ध विकास संस्थाले कृषकलाई भुक्तानी गर्न बाँकी रहेको भन्दै अवको १० दिनमा समाधान निकाल्ने बताएका छन् ।  


बुधबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले साढे तीन अर्ब भन्दा धेरै कृषकहरुको पैसा सरकारी, निजी, साझेदारी र व्यक्तिगत फर्मवालाहरुले तिर्न बाँकी रहको बताएका हुन् । 
उनले भने,‘दुधको समस्या छ । १० दिनपछि केही खुशी अनुहार लिएर आउन सक्छौ होला । लगभग ९० करोडको हाराहारीमा दुग्ध विकास संस्थाले किसानको पैसा तिर्नुछ । समग्रमा साढे तीन अर्ब  भन्दा धेरै कृषकहरुको पैसा सरकारी, निजी, साझेदारी र व्यक्तिगत फर्मवालाहरुले तिर्न बाँकी छ । सत्य कुरा बोल्नुपर्छ ।’

Advertisement:

Ad
Ad


उनले उखु किसानको लागि अर्थ मन्त्रालयमार्फत दामासाहीका हिसावले रकम निकासा भएको बताए । 
‘उखुको कुरा गर्दा गत वर्षको बजेट सिलिङका अनुसार ३५ रुपैयाँ पुग्यो दामासाहीका हिसावले दिने कुरा छ । ३५ रुपैयाँका हिसावले किसानहरुको खातामा केही दिनमा पुग्छ । अर्थ मन्त्रालयमार्फत निकासा भइसकेको छ । त्यसभन्दा बढि म बोल्दिन,’ उनले भने । 


यस्तै बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले सार्वजनिक खरिद नियमावलीको १४ औँ संशोधनले रसायनिक मल सम्बन्धि छुट्टै दफाको व्यवस्था गरेकोले सहजीकरण भएको बताए ।