२०८२ भदौ ०२ गते
काठमाडौ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो एक महिनामै २४ अर्ब १० करोड रुपैयाँ भन्दा बढीको वैदेशिक लगानी स्विकृत भएको छ । उद्योग विभागका अनुसार साउन महिनामा विदेशी लगानीका १ सय २७ परियोजना दर्ता भएका छन् ।
यसमार्फत कुल ८ हजार २ सय बढी जनाले रोजगारी पाउने छन् । कृषिमुलक क्षेत्रका ३ परियोजनामा मात्रै साउनमा २० अर्ब ४ करोड ५५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको छ । साउनमा अन्य क्षेत्रभन्दा कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको छ । यसअघि सेवा र पर्यटन क्षेत्रमा बढी प्रतिवद्धता आउने गरेको भएपनि यसपल्ट भने कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको छ । हालसम्म भने ६ खर्ब ७५ अर्ब भन्दा बढी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
पर्यटन क्षेत्रमा पनि ३ अर्ब २ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ । सूचना प्रविधि क्षेत्रका सबैभन्दा बढी परियोजना दर्ता भएको विभागको तथ्यांकमा छ । पछिल्लो १ महिनामै सूचना प्रविधि क्षेत्रका ७१ परियोजना नेपालमा दर्ता भएको देखिन्छ । यी परियोजनामार्फत विदेशी लगानीकर्ताहरुले ३६ करोड ५२ लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
सेवामुलक क्षेत्रका ८ परियोजनामार्फत ३३ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा उर्जामुलक क्षेत्रमा १८ करोड ४२ लाख र उत्पादनमुलक क्षेत्रमा १५ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ ।
प्रतिक्रिया