२०८३ भदौ २३ गते
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि जर्मनीले करिब ८० लाख युरो सहयोग गर्ने भएको छ ।
जर्मनीले तत्कालीन मानवीय आवश्यकतादेखि दीर्घकालीन पुनःस्थापना र विपद्पछिको पूर्वाधार निर्माणसम्मका लागि सहयोग उपलब्ध गराउने जनाएको छ । सहयोगमा मानवीय सहायता, विकास सहकार्य तथा युरोपेली संघ र बहुपक्षीय संयन्त्रमार्फत हुने सहयोगसमेत समेटिएको छ ।
जर्मनीले तत्कालीन राहतका लागि ५ लाख युरोभन्दा बढीको सामग्री उपलब्ध गराएको छ । नेपाल सरकारको अनुरोधमा युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमाफर्त ती सामग्री नेपाल ल्याइँदै छ । राहत सामग्रीमा भान्साका सामग्री, त्रिपाल, झुल, खानेपानी आपूर्तिका उपकरण तथा शिविरमा प्रयोग हुने खाट छन् ।
यी सामग्री जर्मन विदेश मन्त्रालयको आर्थिक सहयोगमा जर्मन फेडरल एजेन्सी फर टेक्निकल रिलिफ (टीएचडब्लू), जर्मन लाइफ सेभिङ एसोसिएसन ९डीएलआरजी० तथा जर्मनीको थुरिन्जिया राज्यले उपलब्ध गराएका हुन् ।
त्यस्तै, जर्मनीले तत्कालीन मानवीय आवश्यकताका लागि दुई नागरिक समाज संस्थामार्फत थप २ लाख युरो प्रत्यक्ष सहयोग गर्ने भएको छ । त्यसमध्ये एउटा परियोजनाले विपद्बाट प्रभावित गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य र कल्याणमा केन्द्रित भएर आपत्कालीन सामग्री उपलब्ध गराउने, अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच कायम राख्ने तथा संक्रमण रोकथामका उपाय सुदृढ गर्नेछ ।
अर्को परियोजना युरोपेली संघको मानवीय सहायता कार्यक्रमअन्तर्गत सञ्चालन हुनेछ । यसमार्फत विपद्बाट प्रभावित परिवारका लागि आयआर्जनका अवसर सिर्जना गर्ने, पूर्वाधार पुनःस्थापनामा सहयोग गर्ने तथा विस्थापितहरूका शिविरको अवस्था सुधार गर्ने लक्ष्य राखिएको छ ।
विपद्को प्रभाव तत्कालीन उद्धार र राहतमा मात्र सीमित नहुने भन्दै जर्मनीले विकास सहकार्यअन्तर्गत थप ७३ लाख ५० हजार युरो परिचालन गरेको छ । जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको सहयोगमा उक्त रकम जर्मनीको अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी संघीय संस्था जीआईजेडमार्फत कार्यान्वयन हुनेछ ।
प्रतिक्रिया